Logo

चुरेको विनाश नरोके देशले ठूलो वातावरणीय क्षति व्यहोर्नुपर्छ : पूर्वमन्त्री महतो (भिडिओसहित)



काठमाडौं, २ असार । जनता समाजवादी पार्टीका प्रभावशाली नेता तथा पूर्वमन्त्री डा. वीरेन्द्र प्रसाद महतोले चुरेको विनाश नरोके देशले ठूलो वातावरणीय क्षति व्यहोर्नुपर्ने चेतावनी दिएका छन् । लक्ष्मी सामूदायिक वन, मिर्चैया–७ सिराहामा प्रधानमन्त्री पुष्पकमल दाहालको प्रमुख आतिथ्यतामा आज (आइतबार) आयोजित दशौं चुरे संरक्षण दिवसको अवसरमा आयोजित बहृत्त वृक्षारोपण समारोहमा आफ्नो मन्तव्य राख्दै पूर्व वनमन्त्री डा. महतोले यस्तो चेतावनी दिएका हुन् ।

सम्बोधनको क्रममा सिराहा–४ का प्रत्यक्ष निर्वाचित सांसदसमेत रहेका नेता महतोले चुरे संरक्षणको लागि प्रधानमन्त्री दाहालको विशेष ध्यानाकार्षण गराए । उनले भने,‘चुरेको संरक्षण दिवसका अवसरमा धेरै कुरा गर्नुभन्दापनि म के भन्छु भने चुरे रह्यो भनेमात्रै हाम्रो तराई रहन्छ । चुरे नरहे हाम्रो तराई मरूभूमिमा परिणत हुन्छ । यसको संरक्षणको लागि तीनै तह संघ, प्रदेश र स्थानीय सरकारबाट सकारात्मक योगदान र प्रयास जारी राख्नुपर्छ । चुरेको विनाशले मधेश प्रदेशलाई मात्रै नभएर सिंगो देशमा नै वातावरणमा ठूलो र नकारात्मक प्रभाव पार्नसक्छ ।’

सो क्रममा उनले चुरे संरक्षणको लागि यसवर्षको बजेटमा छुट्याईएको बजेटप्रति गम्भीर असन्तुष्टि व्यक्त गरे । उनले चुरे संरक्षण कोषको लागि १ अर्ब ५ करोड रुपैयाँमात्रै विनियोजन गरिएको भन्दै यसरी चुरेको कसरी संरक्षण हुन्छ ? भन्दै प्रश्न गरे ।

उनले भने,‘चुरे संरक्षण कोषको लागि १ अर्ब ५ करोड विनियोजन गरिएको छ । यसमा पनि कनिका छरिएकोजस्तो छ । चुरे संरक्षणको लागि विद्धान साथीहरु खासगरी चुरे क्षेत्रको संरक्षणमा काम गरेका साथीहरु र प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका विद्धानहरुले अब हामीले यसअघि तयार पारेको चुरे गुरुयोजनाअनुसार काम गर्नुपर्छ । त्यो अनुसार काम गरिएमात्रै चुरेको संरक्षण हुन्छ । चुरेको विनाशको कारणले प्रत्यक्ष रुपमा मधेशले भोग्नुपरेको समस्या भनेको पानीको अभाव नै हो । अब वाटर रिचार्जको लागि पनि पोखरी, पानी सिञ्चित गर्ने वाटर रिजर्भ गर्नुपर्छ । चुरेलाई व्यवस्थित् रुपमा संरक्षण गर्नुपर्छ ।’

यस्तै, उनले चुरे उत्खननबाट निस्किएका गिट्टी तथा बालुवा निर्यात गर्ने कुरा आएको भन्दै त्यसलाई रोक्नुपर्ने आवश्यकत्ता औंल्याए । उनले भने,‘नेपालबाट गिट्टी, बालुवा अरु देशलाइ बेच्ने कुरा छ, त्यो चुरेको विरोधमा हुनजान्छ । त्यो हामीलाई कदापी स्विकार्य हुँदैन् । केही नेपाल ऐन संशोधन गरेर यस्तो ऐन ल्याउन खोजिएको कुरा छ, त्यसलाई हामीले रोक्न जरुरी छ ।’

सांसद महतोले चुरे क्षेत्रमा बृहत्त वृक्षारोपण आवश्यक रहेको औंल्याए । उनले भने,‘सबैले कम्तिमा एउटा विरुवा रोपौं । वृक्षारोपणलाई अभियानकै रुपमा सञ्चालन गरिनुपर्छ । यसो हुन सक्यो भने महिनामा नै करोडौं विरुवा रोप्न सफल होईन्छ । यसमा सबैको ध्यान जाओस ।’

पूर्वमन्त्री महतोले आफ्नो क्षेत्रको मुख्य व्यापारिक केन्द्र मिर्चैयामा महेन्द्र राजमार्ग विस्तारको कारण जनजीवन कष्टकर बनेको र स्थानीयले धुलो, धुँवा र हिलोको कारण गम्भीर स्वास्थ्य समस्यासमेत खेप्नुपरेकोमा प्रधानमन्त्री दाहालको ध्नाकार्षण गराए ।

उनले भने,‘महेन्द्र राजमार्गको स्तरोन्नतिको कामले मिर्चैयाको जनजीवन असाध्यै कष्ट बन्यो । यसतर्फ म सम्माननीय प्रधानमन्त्रीज्यूको ध्यानाकार्षण गराउन चाहन्छु । अहिले मिर्चैयाको बजारको जनजीवन अस्तव्यस्त छ । यहाँका वासिन्दाहरुको अवस्था भयावय र जर्जर छ । यो विषयमा सम्माननीयज्यूको ध्यान जाओस । कमला उत्खननको कुरा छ, यहाँ चरम दोहन भैरहेको छ । उत्खनन गर्नेहरु डन बनेका छन् । उनीहरुलाई कानून लाग्छ कि लाग्दैन् ? यसरी अवैज्ञानिक ढंगले कमला नदी र चुरेको दोहन भैरहेको छ । यसलाई रोक्नको लागि तीनै तहका सरकारको ध्यान जाओस ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot