Logo

शंकर पोखरेलले सुनाए जनतासँग एमालेको सम्बन्ध टुट्नुको कारण, विदेशमा बसेर गाली नगर्न चेतावनी



काठमाडौं, ३ असार । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पार्टी अहिले पनि चुनौतीको बीचमा रहेको र कामबाटै चुनौतीहरू पार गर्नुपर्ने बताएका छन् । एमाले बाग्मती प्रदेश कमिटीले हिजो (आइतबार) तुल्सीलाल स्मृति प्रतिष्ठान, च्यासलमा आयोजना गरेको विभागीय पदाधिकारी र सदस्यको शपथग्रहण तथा जनसंगठनका पदाधिकारीको शपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उक्त कुरा बताएका हुन् ।

उनले पार्टीसमक्ष रहेका चुनौती सामना गर्न पार्टी र पार्टीका विभिन्न विभाग, जनसङ्गठनहरूको महत्वपूर्ण भूमिका हुने बताए । पोखरेलले पार्टीलाई बलियो राष्ट्रिय शक्ति बनाउन नेताकार्यकर्ताहरू जनतासँग जोडिनुपर्ने र जिम्मेवारी प्राप्त गर्नेहरूले यस कुराको अनुभूति गर्नुपर्नेमा जोड दिए । पार्टीका हरेक गतिविधि जनतासँग जोडिनुपर्ने तथा राजनीतिक दलका नेताकार्यकर्ता समाजमा आदर्श पात्रको रूपमा स्थापित हुनुपर्नेमा उनले जोड दिए ।

जनतासँग जाने कुरालाई बाक्लो बनाउनुुपर्ने उनको भनाई छ । पोखरेलले भने,‘जनताको चाहना राजनीतिक दलका नेताहरू आफ्नो घरमा आइदेओस् भन्ने हुन्छ तर हामी जनताको बीचमा जान छाडेका छौं, जसका कारण उनीहरूसँगको हाम्रो सम्बन्ध टुटेको छ ।’ उनले राजनीतिमा युवाको आकर्षण गराउन आवश्यक रहेको बताए ।

आज देशमा रोजगारीको अवसर छैन भनेर विदेश जाने र विदेशमा गएर नेपाल र नेपालको राजनीतिलाई गाली गर्ने क्रम बढेको पोखरेलको भनाई । देशलाई समृद्ध बनाउने हो भने देशमा नै भविष्य खोज्नुपर्ने पोखरेलको तर्क छ । उनले भने,‘विदेशमा बसेर गाली गरेर देश बन्दैन ।’

नेपालबाट युवाहरू रोजगारी खोज्न विदेश गइरहँदा भारतबाट नेपाल आएकाले नेपालमा रोजगारी गरेर ठुलो पैसा भारत लैजाने गरेका उनले बताए । कतिपय नेपालका उद्योग व्यवसायमा भारतीय कामदारको एकाधिकार रहेको उनले प्रष्ट पारे । नेपालमा केही समुदायबाहेक व्यावसायिक काम गर्ने अवधारणा नै विकास नभएको महासचिव पोखरेलले बताए ।



प्रतिक्रिया दिनुहोस्