Logo

बीआरआई ऋणको रूपमा स्विकार गर्दैनौं, अनुदान भएपनि संसद्मा छलफल हुनुपर्छ : मनिष सुमन



काठमाडौं, ३ असार । जनता समाजवादी पार्टी, नेपालका प्रभावशाली नेता मनिष सुमनले प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो पद जोगाउनको लागि सधैं कुकृत्य गरिरहेको आरोप लगाएका छन् । उनले प्रचण्डमाथि आफू किन प्रधानमन्त्री बनेको छु भन्ने कुरा पनि थाहा नभएको आरोप लगाए ।

आज (सोमबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै नेता सुमनले प्रधानमन्त्री प्रचण्डले देशको विकास गर्नुभन्दा रमिता हेर्ने काममात्रै गरेको आरोपपनि लगाए । उनले भने,‘देशमा जहिल्यैपनि अस्थिरता रुचाउने, म किन प्रधानमन्त्री छु भन्ने थाहा नभएको मान्छे अहिले यो देशको प्रधानमन्त्री छन् । उनी महँगो घडी लगाउन, महँगो कोट लगाउन । आफ्नो पुस्ता र छोरीमा राजनीतिक पुस्ता हस्तान्तरण गर्न, रमिता हेरिरहन र सेक्युरिटीको रवाफ हेर्नको लागि प्रधानमन्त्री बनेको हुन् । देशलाई कहाँ पुर्याउनुपर्दछ ? देशको लागि हामीले के गर्ने ? गरिबी उन्मुलन कसरी गर्ने ? विकासलाई कहाँसम्म लाने ? कुटनीतिक सम्बन्धहरु हाम्रो बिग्रिँदैछ, त्यसको बारेमा सोच्ने, यस्ता केही विचार नगरिकन आफ्नो पद र पदमात्रै जोगाउनको लागि उहाँले गर्नुसम्मको कुकृत्य गर्नुभएको छ । सिन्धुलीको एउटा कार्यक्रममा उहाँले म उथलपुथलको द्योत्तक हुँ । जसपालाई फुटाईदिएँ भन्नुभयो ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले आफ्नो दल फुटाएँ भनेर प्रचण्डले गर्व गरेपनि आफ्नो पार्टी विभाजन नभएको कुरा हालै मधेश प्रदेशको राजधानी जनकपुरमा भएको प्रथम एकता महाधिवेशनको सफलताले पुष्टि गरेको स्पष्ट पारे । उनले भने,‘अहिले अशोक राईको नयाँ पार्टीमा भएका ठूला ठूला नेताहरु आफ्ना गृहजिल्ला फर्किन पाएका छैनन् । मान्छेले कालो मोसो दलदिएला भनेर उनीहरु गएका छैनन् । प्रधानमन्त्री प्रचण्ड जसपा, नेपाल फुटाएँ भनेर बडो दंगका साथ सरकार चलाउँदै हुनुहुन्छ । भारत भ्रमणमा जाँदै हुनुहुन्थ्यो, त्यसको पूर्वसन्ध्यामा ११ जना राजदूतको जागिर खाईदिनुभयो । सर्वोच्च अदालतमा न्यायाधीश नियुक्ती हुँदैछ । ८ वटा कोटामा सयौंको निवेदन भएको छ । त्यो पनि जनताले हेरिरहेका छन् ।’

सुमनले अहिले देशमा गरिबी चरम सिमामा पुगेको टिप्पणी गरे । प्रचण्डको सरकार बनेपछि मुलुक अस्थिरताको शिकार भएको उनको आरोप छ । उनले भने,‘मधेश प्रदेशमा हेर्ने हो भने चोरी र डकैतीको श्रृंखला झन बढिरहेका छन् । जबदेखि उहाँहरुको सरकार आएको छ ।’ उनले अहिलेको सत्ता गठबन्धनको बीचमा पनि बजेटलाई लिएर खटपट सुरु भैसकेको दाबी गरे । उनले भने,‘मन्त्रिमण्डल पूनर्गठनलाई लिएर खटपट सुरु भैसकेको छ ।’ उनले जनताको म्याण्डेटबिना नै ३२ सिटको पार्टीको अध्यक्ष प्रचण्ड सरकारको नेतृत्वमा पुगेको भन्दै प्रश्न उठाए । उनले प्रचण्डले गठबन्धन फेरबदल गर्दा सातै वटा प्रदेश सरकारमा हलचल पैदा भएको पनि गुनासो पोखे ।

उनले आफ्नो दल वर्तमन सरकारको विस्थापनको पक्षमा नलागेको जिकिर गरे । उनले भने,‘केपी ओलीले बेला बेलामा यसअघि मैले संसद् विघट गरेको ठीक भनेर भन्नुभएको छ । फेरि पनि संसद् विघटन हुन्छ भनेर घुर्की लगाउनुहुन्छ । न त ओलीजी अन्तिम नेता हो यो देशको, न त प्रचण्ड नै । उहाँहरुले सक्नुहुन्न भने बाटो छोडे हुन्छ । विकल्प छ । प्रतिनिधिसभा पूरै कार्यकाल चल्नुपर्छ ।’

नेता सुमनले चीनबाट अनुदान लिँदापनि नेपालमा पर्याप्त छलफल हुनुपर्ने माग गरे । उनले भने,‘जसपा, नेपालले सधैं प्रष्ट छ–हाम्रो देशले ऋण थेग्न सक्दैन् । विदेशी ऋण अन्तर्राष्ट्रिय बजारमा १ प्रतिशत पनि ०.५ प्रतिशत पनि धेरै महँगो दर हो । हाम्रो विकासको लागि अनुदान दिँदापनि अब छलफ हुनुपर्छ । बिआरआई स्विकार गर्दापनि संसद्मा प्रशस्त छलफल हुनुपर्दछ । एमसिसिको बारेमा संसद्मा छलफल भएको थियो । अनुदान भएमात्रै पनि छलफल हुनुपर्छ । ऋण भए त स्विकार गर्दैनौं ।’ पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनाउँदा नेपाल सरकारले पर्याप्त छलफल नगरेको भन्दै जनताले त्यसको जवाफ माग्नुपर्ने उनको माग छ ।

उनले भने,‘जसपा, नेपाललाई बिआरआई ऋणको रूपमा कदापी स्विकार्य छैन् । अनुदान भएपनि बृहत्त छलफल गरौं । बिआरआई देशको लागि राष्ट्रघाती हो । नेपाली जनता र सन्ततिको लागि लादिएको कर्जा हो । त्यो अनिष्ट कार्य जसपा, नेपाल स्विकार गर्न सक्दैन् ।’

उनले पार्टीको एकताको प्रथम महाधिवेशन सफलतापूर्वक सम्पन्न गरेको सुनाए । उनले भने,‘चार दिनसम्म लगातार चलेको एकता राष्ट्रिय महाधिवेशनमा लाखौं लाख जनतालाई जनकपुरमा ओरालेको थियो । जसपा, नेपाल बलियो भएर आएको छ । सिंगो जनकपुर महाधिवेशनको समयमा मानिसहरुको ओहोदोहोरले अस्तव्यस्त थियो । प्रमुख दलका नेताहरुले शुभकामना दिए । बन्दसत्रले पार्टीको विचार पास गरेको छ ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot