Logo

भावी पुस्ताको टाउकोमाथि ऋण थुपार्नको लागि बीआरआईको ऋण लिनुहँदैन् : प्रकाश रसाईली स्नेही



काठमाडौं, ३ असार । नेपाली कांग्रेसका प्रभावशाली युवा नेता तथा पूर्व सभासद प्रकाश रसाईली स्नेहीले बीआरआई अनुदानको रुपमा मात्रै लिन सकिने भन्दै ऋणको रुपमा स्विकार गर्न नसकिने टिप्पणी गरेका छन् । उनले बीआरआईको लगानीको कारण श्रीलंका, पाकिस्तान र दक्षिण अफ्रिकाका धेरै देशको अवस्था कस्तो छ भन्ने कुरा घामजस्तै छर्लङ रहेको स्मरण गराए ।

उनले भने,‘नेपालको पछिल्लो वर्तमान समयको अनुभव बीआरआईअन्तर्गतको पोखरा अन्तर्राष्ट्रिय एयरपोर्ट र एयरपोर्ट बनेपछि नेपाल सरकारलाई उठ्ने राजश्व र हामीले बीआरआईमार्फत लिएको ऋणको कारण नेपालको अर्थतन्त्रमा परेको असरको बारेमा हाम्रो अगाडि घामजस्तै छर्लङ छ । पछिल्लोपटक श्रीलंकाको हम्बनटोटा बन्दरगाहको विषयमा पनि यो भन्दा अघिल्लो सदनमा निकै चर्चा भएको विषय छ । हाम्रो पार्टीको प्रष्ट विचार छ–नेपालको अर्थतन्त्र एकदमै तरल अवस्थामा छ । हाम्रो भावी पुस्ताको टाउकोमाथि फेरि ऋण थुपरिनेगरि कुनैपनि देशको ऋणमार्फत नेपालमा सम्पन्न गर्ने परियोजना हाम्रो निम्ति स्विकार्य छैन् । कुनै देशले हामीलाई एमसिसिजस्तै सहयोग गर्छ भने हाम्रो देशका आम नागरिकको बीचमा, संसद्को बहसको विषय बनाएर र राज्यको संयन्त्रमार्फत अनुदानमात्रै स्विकार गरिन्छ भन्नुपर्छ ।’

बीआरआईपनि अनुदान हो भने त्यसको बारेमा सोच्न सकिने उनको भनाई छ । तर, परियोजनाको विषयमा पनि गम्भीर छलफल हुनुपर्ने उनको धारणा छ । बीआरआई भनेको ऋण भएको उनको दाबी छ । बीआरआईबारे सम्झौता गर्न लागिएको सुनिएको उल्लेख गर्दै त्यो अनुदानमा हुनुपर्नेमा उनको जोड थियो । आम नागरिकले कहीँ कतै प्रश्न खडा नगर्नेगरि बीआरआई अनुदानमा लिँदा मात्रै राम्रो हुने उनको सुझाव छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो भारत भ्रमणको बारेमा संसद्लाई जानकारी नगरएको भन्दै स्नेहीले आलोचना गरे । प्रधानमन्त्री दाहाल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच एक्लाएक्लै भेटवार्तामा के कुरा भएको थियो भन्ने कुरा सदनलाई जानकारी गराउनुपर्ने उनको भनाई छ ।

उनले प्रधानमन्त्री प्रचण्डले तीन करोड नेपाली जनता, सार्वभौम संसद् र सांसदहरुलाई अपमान गरेको भएपनि भारत भ्रमणको विषयमा एमाले अध्यक्ष केपी शर्मा ओलीको मात्रै सम्मान गरेको जिकिर गरे । उनले भारतजानुअघि पनि ओलीसँगमात्रै भेटेको र फर्किएपछि पनि ओलीसँग भ्रमणको ब्रिफ गरेकोले त्यो कुरा पुष्टि भएको टिप्पणी गरे ।

अहिले सरकार किसानको मागप्रति संवेदनशील नभएको आरोप लगाए । चुरेको दोहनको कारण जनता पिउने पानीको अभावमा रहेको भएपनि सरकार पूर्ण रुपमा असफल भैसकेको दाबी गरे । उनले प्रधानमन्त्री प्रचण्डले सरकार जोगाउनेबाहेक अरु केही पनि काम गर्न नसक्ने जिकिर गरे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot