Logo

गैरकानुनी रूपमा हिरासतमा राखिएका कैदी बालबालिका र नागरिकलाई युक्रेनमा फिर्ता गर्नुपर्छ : युक्रेनी राष्ट्रपति जेलेन्स्की



बर्न, स्विट्जरल्यान्ड, ३ असार । स्विट्जरल्यान्डमा शान्ति शिखर सम्मेलनको समापनपछि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले गैरकानुनी रूपमा विस्थापित तथा हिरासतमा रहेका बालबालिका र सबै युद्धबन्दीलाई युक्रेनमा फिर्ता गर्नुपर्ने बताएका छन् ।

युक्रेनमा युद्धको अन्त्य गर्ने मार्ग निर्माण गर्न समर्पित स्विजरल्याण्डमा दुई दिने शिखर सम्मेलनमा सहभागी ८० भन्दा बढी अन्य देशहरू र अन्तर्राष्ट्रिय संस्थाहरू सहमत भएपनि केही तर प्रमुख शक्ति राष्ट्रहरूले संयुक्त विज्ञप्ति जारी गर्न अस्वीकार गरेका थिए ।

युद्धबन्दीको आदानप्रदानद्वारा सबैलाई रिहा गरिनुपर्ने, निर्वासित र गैरकानुनी रूपमा विस्थापित युक्रेनी बालबालिका, र हिरासतमा राखिएका सबै युक्रेनी नागरिकलाई युक्रेनमा फिर्ता गर्नुपर्ने सम्मेलनपछि पत्रकारसँगको कुराकानीमा उनले बताए ।

आणविक सुविधाहरू सुरक्षित गरिनुपर्ने र जापोरिज्झयालगायतका आणविक संयन्त्रहरू युक्रेनको नियन्त्रणमा हुनुपर्ने पनि उनले बताए । युक्रेनले ब्ल्याक र अजोभ सीमा व्यापारिक जहाज र नागरिक बन्दरगाह पूर्वाधारमा भएका आक्रमणलाई ‘अस्वीकार्य’ भन्दै निन्दा गरेको छ । उनले खाद्य सुरक्षालाई युद्धमा हतियारको रूपमा प्रयोग नगर्न पनि जोड दिए ।

भारत, साउदी अरब, दक्षिण अफ्रिका र संयुक्त अरब इमिरेट्सलगायत ब्रिक्स आर्थिक समूहका सदस्यको रूपमा रुससँग व्यापारिक सम्बन्ध भएकाहरु बैठकमा सहभागी भएपनि संयुक्त वक्तव्यमा हस्ताक्षर गर्न सहमत भएनन् ।

जुन १५ र १६ मा सञ्चालित शान्ति शिखर सम्मेलनमा रूसलाई युक्रेनसँगको युद्ध अन्त्य गर्न दबाब दिन ९२ देश र सङ्गठनका प्रतिनिधि भेला भएका थिए भने रूसलाई निमन्त्रणा गरिएको थिएन । चीन शिखर सम्मेलनबाट बाहिरिएको थियो । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot