Logo

सिके राउत देखाएर नारायणकाजीको जागिर खाने ओलीको दाउ, परराष्ट्र मन्त्रालयको नेतृत्व एमालेले लिने



काठमाडौं, ३ असार । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीपनि मन्त्रिमण्डल पूनर्गठनको लागि सकारात्मक बनेका छन् । यसअघि प्रधानमन्त्री पुष्पकमल दाहालले आफूलाई बलियो बनाउनको लागि सिके राउत नेतृत्वको जनमत पार्टी र रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टीलाई तत्कालै सरकारमा सहभागी गराउनेगरि छलफल गरेका थिए । ओलीले तत्काल सहमति दिएनन् ।

तर, प्रधानमन्त्री दाहाल भारत भ्रमणबाट फर्किएपछि भने ओली मन्त्रिमण्डल पूनर्गठनको लागि तयार भएका छन् । स्रोतकाअनुसार प्रधानमन्त्री दाहालले संसद्बाट बजेट पारित हुनेबित्तिकै मन्त्रिमण्डल हेरफेर गर्ने गृहकार्य गरेका छन् । तर, एमाले अध्यक्ष ओलीले सत्ता गठबन्धनमा अस्वभाविक ढंगले खेलेको प्रधानमन्त्री दाहालको निश्कर्ष छ ।

ओलीले गृहमन्त्री रवि लामिछाने र प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएको जनमत पार्टीका अध्यक्ष सिके राउतसँग संयुक्त छलफल गरेर परराष्ट्र मन्त्रालय माओवादीको भागबाट खोस्नेगरि छलफल गरेको सुईंको पाएका प्रचण्ड भने मन्त्रिमण्डल पूनर्गठन गर्ने हतारोबाट रोकिएका छन् । ओलीले जनमतका अध्यक्ष डा. राउतलाई नै सरकारमा सहभागी गराउने प्रस्ताव गरेका छन् । राउतलाई परराष्ट्र मन्त्रालयको नेतृत्व दिन ओलीले दबाब बढाएका छन् ।

अहिले परराष्ट्र मन्त्रालयको नेतृत्व प्रधानमन्त्री दाहालको दल नेकपा (माओवादी केन्द्र) का वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले गरिरहेका छन् । श्रेष्ठको ठाउँमा राउतलाई ल्याउनको लागि ओलीले दबाब बढाएका छन् । राउतपनि परराष्ट्र मन्त्रालय पाए सरकारमा जान ईच्छुक देखिएका छन् । ओलीले राउतको लागि परराष्ट्र मन्त्रालय खाली गराएर उद्योग मन्त्रालय दिनेगरि तयारी गरेका छन् । राउतले सुरुदेखि नै कृषि वा उद्योग मन्त्रालय मागेका थिए । राउत उद्योग वा कृषि मन्त्रालयमा चित्त बुझाउन राजी भए परराष्ट्र मन्त्रालयको नेतृत्वमा एमालेको प्रवेश हुनेछ ।

यसपटक ओलीले परराष्ट्र मन्त्रालयको नेतृत्वमा महिला सांसदलाई पठाउन चाहेको चर्चा छ । खासगरी हालै मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपतिबाट मनोनित राष्ट्रियसभा सदस्य डा. अञ्जान शाक्यलाई परराष्ट्रमन्त्री बनाउने ओलीको चाहना छ । शाक्य तत्काल मन्त्रीको लागि तयार नभएको बुझिएको छ । यसो हुँदा सचेतक सुनिता बराललाई सरकारमा पठाउन सकिने चर्चापनि छ । बराल अन्तर्राष्ट्रिय सम्बन्ध र कुटनीति विषयमा विद्यावारिधी (PhD) गरिरहेकी छिन् । उनी विद्यार्थी राजनीतिबाट संसदीय राजनीतिमा प्रवेश गरेकी नेतृ हुन् ।

प्रधानमन्त्री प्रचण्ड वर्षमान पुनबाहेक माओवादीबाट सरकारमा सहभागी सबैलाई फिर्ता बोलाउने तयारीमा छन् । तर, उपमहासचिव जनार्दन शर्माले त्यसमा कडा विरोध जनाएका छन् । माओवादीबाट सरकारमा सहभागी भएकाहरुलाई कामै गर्न नदिई फिर्ता बोलाउने परिपाटी राम्रो नभएको भन्दै प्रधानमन्त्री दाहालसमक्ष असन्तुष्टि पोखेको स्रोतको दाबी छ। माओवादीबाट यसपटकको मन्त्रिमण्डल पूनर्गठनमा युवा नेताहर राजन दाहाल, माधव सापकोटा, महेन्द्रबहादुर शाहीलगायत समेटिने बुझिएको छ । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot