Logo

कर्णाली प्रदेश अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परिणत गर्न सांसद शाहको माग



काठमाडौं, ४ असार । नेपाली कांग्रेसका नेता एवं कर्णाली प्रदेश सभा सदस्य राजीवविक्रम शाहले सुर्खेतको प्रदेश अस्पतालाई स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परिणत गरिनुपर्ने बताएका छन् । प्रदेश सभा बैठकमा प्रदेश सरकारले ल्याएको बजेटबारे आफ्नो धारणा राख्दै तत्कालीन मुख्यमन्त्री जीवन बहादुर शाहीले अगाडि बढाएको उक्त परियोजना रोकिएको भन्दै आपत्ति जनाए ।

प्रदेश सरकारले ल्याएको बजेटबारे आफ्नो धारणा राख्दै उनले असारे विकासको प्रवृत्तिलाई अन्त्य गर्नुपर्ने आवश्यत्ता औंल्याए । सांसद सिंहले मुख्यमन्त्री रोजगार कार्यक्रमलाई प्रभावकारी बनाउन काठमाडौं महानगर प्रमुख बालेन्द्र शाहले अगाडि बढाएको स्वरोजगार तथा रोजगार मोडेल कर्णालीमा समेत आवश्यक रहेको बताए । उनले कर्णालीका युवाहरुलाई सफ्ट लोन उपलब्ध गराउन पनि सरकारको ध्यानाकार्षण गराए ।

साथै, कर्णालीमा कर्मचारीहरु नटिक्ने समस्याको पनि समाधान खोजिनुपर्ने उनको भनाइ छ । उनले कर्मचारी प्रशासन अस्थिर हुँदा योजना कार्यान्वयनमा जटिलता आएको बताए ।

कर्णाली प्रदेश सरकारको आन्तरिक राजस्व लक्ष्य हेर्दा परनिर्भर प्रदेशको रुपमा रहिरहने खतरा रहेको भन्दै उनले कर्णाली लगानी बोर्ड स्थापना गर्नु उपयुक्त हुने बताए । उनले कर्णालीमा धेरै सम्भावना रहेको बताउँदै संघीय सरकारसँग आश्रित हुने परिपाटी अन्त्य गरिनुपर्ने बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot