Logo

ओलीले हदैसम्म पेले कांग्रेससँग सहकार्य गर्ने प्रधानमन्त्री प्रचण्डको तयारी, अहिले ‘पर्ख र हेर’मा



काठमाडौं, ५ असार । प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेससँगको सहकार्य तोडेर एमालेसँग सहकार्य थालेको एक सय दिन पुरा भएको छ । तर, प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सम्बन्ध भने सुमधुर छैन् । उनीहरुबीच सम्बन्ध बिग्रिहालेको त छैन, तर लामो जाने पनि संकेत देखिएको छैन् ।

खासगरी बजेटमाथि ओलीको टिप्पणीले यी दुई नेताको सम्बन्ध चिसिएको बुझिन्छ । ओलीले बजेट माओवादीप्रति ढल्किएको भनेर सार्वजनिक रुपमै आलोचना गरेका छन् । ओलीले बजेट आएपछि संसदीय दलको बैठकमार्फत आलोचना गरेका हुन् । उनले सार्वजनिक रुपमै बजेटको आलोचना गरेपछि एमाले सांसदहरुले पनि सदनमा बजेटमाथिको छलफलमा भाग लिने क्रममा खुलेर बजेटको आलोचना गरे ।

सरकारबाट प्रमुख प्रतिपक्षीको भूमिकामा पुगेको कांग्रेसका नेताहरुले भने बजेट प्रमुख सत्तारुढ दल एमालेले नै अपनत्व लिने अवस्थामा नभएको भन्दै बजेटमाथि प्रश्न उठाएका छन् । प्रधानमन्त्री दाहालमाथि ओलीले बिस्तारै दबाब बढाउँदै लगेका छन् । भारत भ्रमणको मुखमा राजदूतहरु फिर्ता बोलाउन लगाउनु ओलीको प्रधानमन्त्री दाहालमाथि दबाब भएको माओवादी नेताहरु नै स्विकार्छन् ।

दाहालले भने भारत भ्रमणको मुखमा राजदूत फिर्ता बोलाउने निर्णय गर्नु गल्ती भएको भनेर आत्माआलोचना गरेका छन् । अहिले बजेट पारित गरेपछि प्रधानमन्त्री दाहालको ध्यान मन्त्रिपरिषद् पूनर्गठनमा केन्द्रित छ । प्रधानमन्त्री दाहाल नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीलाई सरकारमा सहभागी गराउने हतारोमा छन् । तर, ओलीले भने आफ्नो पार्टीको भागमा परेको मन्त्रालय त्याग गर्न आनाकानी गरेका छन् ।

प्रधानमन्त्री दाहालले कम्तिमा पनि चार जना मन्त्री थप्ने योजना बनाएका छन् । यसमा एमाले र माओवादीले एक/एक मन्त्रालय त्याग गर्ने चर्चा छ । तर, ओलीले भने अहिलेसम्म त्यसबारेमा सहमति दिएका छैनन् । प्रधानमन्त्री दाहालले पछिल्लो समय आफूमाथि ओलीको दबाब महशुस गरेको कुरा आफूनिकट नेताहरुसँग सुनाउने गरेका छन् । ओलीले हदैसम्म पेल्दै गए कांग्रेससँग सहकार्यको ठाउँ आफूले राखेको कुरा उनले आफूनिकट नेताहरुसँग पनि बेला बेलामा भन्ने गरेका छन् ।

पछिल्लो समय उनले कांग्रेस नेताहरु पूर्णबहादुर खड्का, कृष्ण सिटौला, विश्वप्रकाश शर्मा, गगन थापा र रमेश लेखकसँग भेटवार्ता गरिरहेका छन् । बजेट ल्याउँदा आफूहरुलाई पनि सम्झिएको र कतिपय भनेका योजना हालिदिएको भन्दै कांग्रेस सांसदहरुले खुलेरै प्रधानमन्त्री दाहाल र अर्थमन्त्री वर्षमान पुनको पनि प्रशंसा गर्न थालेका छन् ।

कांग्रेस महामन्त्री गगन थापाले नै सदनमा बजेटमाथिको छलफलमा भाग लिने क्रममा बजेटमाथि धेरै आलोचना नगर्ने बताए । उनले अहिले आलोचना गर्ने अनि ७–८ महिनापछि यही बजेट बोकेर हिँड्ने दिनपनि आउनसक्ने भन्दै माओवादीसँग कांग्रेसको सहकार्यको सम्भावना टाढा नरहेको संकेत गरेका थिए । एमाले–माओवादी सहकार्य कति लामो जान्छ भन्ने कुरा ओलीको व्यवहारमा निर्भर रहेको प्रचण्डको बुझाई छ। पछिल्लो समय ओली र दाहालबीच घण्टौं भेटवार्ता र छलफल हुने गरेका छन् । file photo

कांग्रेस फेरि सरकारमा जाँदैन भनेर कसम खाएर बसेको पार्टी होईन, प्रचण्ड अल्पमतमा परे सोच्छ : रमेश लेखक (भिडिओसहित)



प्रतिक्रिया दिनुहोस्

Screenshot