Logo

प्रतिनिधिसभा बैठक : दूधको भुक्तानी गर्न सांसदहरुको माग



काठमाडौँ, ५ असार । प्रतिनिधिसभाको बैठकमा नेकपा (एमाले) का प्रमुख सचेतक महेशकुमार बर्तौलाले किसानलाई दूधको भुक्तानी तत्काल दिन माग गरेका छन् । किसानका समस्या सरकारले तत्काल वार्तामार्फत सम्बोधन गर्नुपर्ने उनले उल्लेख गरे ।

प्रतिनिधिसभाको आजको बैठकमा आकस्मिक समयमा बोल्दै प्रमुख सचेतक बर्तौलाले किसानले दूधको भुक्तानीको माग गर्दै आन्दोलन गरेको लामो समय भएकाले सरकारले तत्काल समस्या समाधान गर्नुपर्नेमा जोड दिए । धर्नामा बसेका ४५ किसानलाई पक्राउ गर्नु दुःखद भएको उनको भनाइ थियो ।

“किसानको माग न्यायोचित छ, ६ लाख किसानले करिब ६ अर्ब भुक्तानी पाउन बाँकी छ”, प्रमुख सचेतक बर्तौलाले भने, “किसानले बैँकबाट ऋण लिएका छन्, तिर्ने अवस्था छैन ।” उनले किसानको समस्याको विषयमा कृषि मन्त्रालय, अर्थ मन्त्रालय र प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदै दूधको भुक्तानीको बक्यौता अविलम्ब उपलब्ध गराउनुपर्नेमा जोड दिए ।

नेपाली कांग्र्रेसकी सांसद नागिना यादवले किसानको जीविकोपार्जनको मुख्य आधार कृषि भएकाले किसानको जायज माग पूरा गर्न सरकारको ध्यानाकर्षण गराइन् । “आन्दोलनरत किसानको माग तत्काल सम्बोधन गर्नुपर्छ”, उनले भनिन् ।

नेकपा (एकीकृत समाजवादी) का सांसद मेटमणी चौधरीले कानुनसम्मत् दर्ता भएका क्रसर र खानी उद्योगको नवीकरण गर्नुपर्ने बताए । क्रसर व्यवसायीबाट रु ६ अर्ब राजस्व प्राप्त भइरहेको उनको भनाइ थियो ।

स्वतन्त्र सांसद डा अमरेशकुमार सिंहले आन्दोलनरत कवाडी व्यवसायीमाथि लाठीचार्ज हुनु दुःखद भएको बताए । आन्दोलनका क्रममा घाइते भएकाको उपचार निःशुल्क गर्न उनले माग गरे ।

नेकपा (एमाले) का सांसद एकनाथ ढकालले गोरखाको भिमसेन थापा गाउँपालिका र धादिङको त्रिपुरासुन्दरी जोड्ने झोलुङ्गे पुल हालसम्म मर्मत हुन नसकेकोप्रति सरकारको ध्यानाकर्षण गराए।

आम जनता पार्टीका अध्यक्ष प्रभु साहले शान्तिपूर्ण आन्दोलनमा रहेका कवाडी व्यवसायीमाथि लाठीप्रहारको घटनाप्रति सरकारको ध्यानाकर्षण गराए ।

नेकपा (एमाले) का सांसद मानवीर राईले लामो समयदेखि लुक्लास्थित तेन्जीङ हिलारी विमानस्थल अवरुद्ध हुँदा पर्यटकले सास्ती खेप्नुपरेको उल्लेख गरे । उक्त विमानस्थलसँगै सडकसमेत अवरुद्ध हुँदा बिरामीलाई समस्या भएकोप्रति सरकारको ध्यानाकर्षण गराए । रासस



प्रतिक्रिया दिनुहोस्