Logo

भरतपुरमा बुद्ध एयरको एकाधिकार तोडियो, श्री एयरलाइन्सद्वारा सफल परीक्षण उडान



काठमाडौं, असार ६। श्री एयरलाइन्सले चितवनको भरतपुरमा पहिलोपल्ट सफलतापूर्वक परीक्षण उडान सम्पन्न गरेको छ। आज बिहान क्यानाडामा निर्मित क्यू ४०० ड्यास ८ जहाजबाट पहिलो पटक परीक्षण उडान गरिएको प्रबन्धक अनिल मानन्धरले जानकारी दिए।

श्रीको परीक्षण उडान समापनसँगै नियमित उडानको बाटो खुलेको छ। योसँगै भरतपुर विमानस्थलमा बुद्ध एयरको एकाधिकार तोडिनेछ। गुण एयरलाइन्सले उडान बन्द गरेसँगै बुद्ध एयरले मात्र भरतपुरमा उडान भर्दै आएको थियो।

बुद्ध एयरले मात्र उडान गर्दा भाडामा एक्लौटी भएको गुनासो बढिरहेका बेला श्रीले उडान गर्न लागेको हो। परीक्षण उडानपछि नेपाल नागरिक उड्डयन प्राधिकरणबाट स्वीकृति पाएसँगै नियमित उडान थाल्ने श्रीको तयारी छ।

नेपालको पर्यटकीय क्षेत्र मानिएको चितवन राष्ट्रिय निकुञ्जमा पयर्टकहरुको पहुँच अझ सहज र सुरक्षित गर्ने र पूर्व पश्चिम राजमार्गको केन्द्र विन्दु र व्यापारिक क्षेत्रमा यात्रुहरुको अत्याधिक चापलाई सहज गर्न भरतपुरमा उडान गर्ने तयारी गरिएको एयरलाइन्सको भनाइ छ ।

एयरलाइन्सका अनुसार क्यानाडाको तत्कालीन बम्बार्डियर हाल डि हाभिलैण्ड अफ क्यानाडा निर्मित ८० सिट क्षमताका क्यु ४०० ड्यास ८ विमान अत्यन्तै आरामदायक, सुरक्षित तथा ध्वनी प्रदुषण कम हुने प्राट एण्ड व्हिएनी कम्पनीबाट निर्मित ५ हजार ४०० हर्षपावरको पीडब्ल्यु १५०ए इन्जिन जडित भएको विमान हो ।



प्रतिक्रिया दिनुहोस्