Logo

प्रचण्ड भेटेलगत्तै प्रभु साह एमाले नेता विष्णु पौडेलको निवासमा



काठमाडौं, ६ असार । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले राजनीतिक सक्रियता बढाएका छन् । पछिल्लो समय एमाले र माओवादीका नेतृत्व तहसँग निरन्तर सम्वादमा रहेका अध्यक्ष साहले आज (बिहीबार) एमाले उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलसँग भेट गरेका छन् । पौडेललाई भेट्न साह आज विहान ८ बजे पौडेल निवास भैंसेपाटी पुगेका थिए । दुई नेताबीच झण्डै आधा घण्टा भेटवार्ता भएको बुझिएको छ ।

साहले पौडेललाई भेट्नुअघि प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गरेका थिए । सिंहदरबारमा मंगलबार प्रधानमन्त्री दाहालसँग भेट गरेका साहले दुई दिनपछि आज (बिहीबार) एमाले उपाध्यक्ष पौडेलसँग भेटवार्ता गरेका हुन् । साहले यसअघि नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालसँग पनि भेटवार्ता गरेका थिए ।

साहले एकाएक किन राजनीतिक सक्रियता बढाए भन्ने विषय अहिले चासोको साथ हेरिएको छ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपाल विभाजन भएपछि साहले एमाले र माओवादी केन्द्रका नेताहरुसँगको भेटवार्ता बाक्लो बनाएका हुन् । नेकपाकालमा महासचिव रहेका विष्णु पौडेलसँग साहको राम्रो सम्बन्ध छ ।

तर, २०७९ को निर्वाचनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले उपेन्द्र यादव नेतृत्वको जसपा, नेपालसँग चुनावी तालमेल गरेपछि भने उनी एमालेबाट चुनाव नउठेर स्वतन्त्र उठेका हुन् । एमाले नेतृत्वले भने साहले आफूहरुलाई धोका दिएको भन्दै आएको छ । साहले भने उपेन्द्र यादवसँगको सहकार्यपछि आफूले विद्रोह गरेको स्पष्टीकरण दिएका छन् । अहिले भने साहले एमालेका नेताहरुसँग सुमधुर सम्बन्ध बनाएका छन् । Photo Design By Dinesh Chaudhary/ReportersNepal



प्रतिक्रिया दिनुहोस्