Logo

आज दशौं अन्तर्राष्ट्रिय योग दिवस



काठमाडौं, असार ७ । ‘आफू र समाजका लागि योग’ भन्ने नाराका साथ दशौं अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि आज विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै छ । अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जुन २१ तारिखका दिन विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइन्छ ।

संयुक्त राष्ट्र सङ्घको महासभाले सन् २०१४ मा गरेको निर्णयअनुसार सन् २०१५ जुन २१ देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्रदामोदरदास मोदीले संयुक्त राष्ट्र सङ्घको ६९औँ महासभामा योग सबैका लागि सधैँका लागि आवश्यक भएकाले अन्तर्राष्ट्रिय योग दिवसको घोषणा गर्न प्रस्ताव गरेका थिए ।

सो प्रस्तावमा नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पहिलो समर्थन गरेपछि युरोपियन युनियनलगायत संयुक्त राष्ट्र सङ्घका स्थायी सदस्य राष्ट्रले समर्थन गरेका थिए । सङ्घले घोषणा गरेका दिवसमध्ये ९० दिनमा १७७ देशले समर्थन गर्ने कीर्तिमान योग दिवसले कायम गरेको छ । सन् २०१६ देखि २१ जुनमा अन्तर्राष्ट्रिय योग दिवस विश्वभर मनाइएको थियो ।

योग एउटा समग्र अभ्यास हो जसमा शारीरिक आसन, प्राणायाम (श्वास अभ्यास), ध्यान र नैतिक सिद्धान्त (यम र नियम) समावेश रहेको हुन्छ ।

यो मन, शरीर र आत्माबीच तादम्यता एवं सद्भावको भावलाई विकसित एवं त्वरित गर्ने प्रतीक पनि हो । यसले हामीलाई वर्तमानमा केन्द्रित हुँदै तनाव एवं नकारात्मकताबाट बच्न सिकाउँदछ । साथै हामीलाई आफ्नो जीवनमा शान्ति र सद्भाव खोज्नमा सघाउँदछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot