Logo

एमाले र कांग्रेसभित्रको पनि समस्या मैले नै समाधान गरिदिनुपरेको छ : प्रधानमन्त्री प्रचण्ड



काठमाडौं, ७ असार । प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले जीवनको उत्तरार्धमा पनि सक्रिय राजनीति गरेको भन्दै निराशा नबाँड्न र नहुन पार्टी पँक्तिलाई अपिल गरेका छन् । नेपाल बुद्धिजीवी संगठनको छैटौं राष्ट्रिय सम्मेलनको आज (शुक्रबार) काठमाडौंका प्रज्ञाभवन कमलदाीमा आयोजित उद्घाटन समारोहमा सम्बोधन गर्दै दाहालले यस्तो बताएका हुन् ।

सम्बोधनको क्रममा उनले देशलाई समाजवादी क्रान्तिको मार्गमा अघि बढाईएको विश्वास दिलाए । उनले अहिले आफूहरु राजनीतिक रुपमा नयाँ चरणमा प्रवेश गरेको र पूरानो ठाउँमा नरहेको स्पष्ट पारेका छन् । जनवादी क्रान्ति आफूहरुले परिकल्पना गरेझैं परम्परागत मोडेलमा सम्पन्न नभएपनि अब नयाँ ढंगले सम्पन्न गरिने उनको विश्वास छ ।

आर्थिक क्रान्तिको विषयमा पनि अपेक्षाअनुसार काम नभएको गुनासो जायज रहेको बताए । उनले जनयुद्धपछि लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको र देशमा प्रगतिपनि भैरहेको सुनाए । उनले भने,‘भौतिक पूर्वाधार, शिक्षा र स्वास्थ्यको क्षेत्रमा प्रगति भएका छन् । तर, त्यो क्रान्तिको अपेक्षाअनुसार जनताले तिव्र गतिमा आर्थिक समृद्धि आउँछ होला भन्ने ठानेका थिए । चाहेजति भएन भन्ने निहुँमा समग्र उपलब्धिको महत्वलाई अवमूल्यन गर्ने काम नगरौं । अहिले देशलाई सामन्ती शासनतर्फ फर्काउने कोशिस भैरहेको छ ।’

उनले हिजो लोकतन्त्रका निम्ति लामो संघर्ष र बलिदान गरेका नेताहरुलाई अपमानित गर्ने र निरंकुशन्त्रको महिमागान गर्ने कसरत देखिएको भन्दै त्यसलाई चिरेर अघि बढ्नुपर्ने आवश्यकत्ता औंल्याए । उनले नयाँ भन्नेहरुलाई पनि पूराना दल र ती दलका शीर्ष नेताहरुको अवमूल्यन नगर्न चेतावनी दिए । उनले भने,‘हामी नयाँ हौं, नयाँ–नयाँ गर्छौं भन्नेहरुलाई पनि तिनै ठूला पार्टीले ठाउँ दिएको हो । पूरानाले नलडेको भए देशमा लोकतन्त्र र ती नयाँ मान्छे आउन सम्भावना थियो त ? उनीहरुले पूरानालाई सम्मान गर्नुपर्छ । पूराना दल र ती दलका नेताहरुले लडेको कारण हामीजस्ताले पनि अहिले अवसर पायौं भन्ने कुरा उनीहरुले बुझ्नुपर्छ । यदि त्यसो गरिएन र पूरानालाई गाली गरियो भने आफूलाई जन्मदिने आमाबुवालाई गाली गरेजस्तो हो । अपमान गर्ने जो प्रवृत्ति देखापरेको छ । त्यो गलत हो ।’

उनले देशमा भएका सबैखाले खराब प्रवृत्तिविरुद्ध बोल्नको लागि पनि बुद्धिजीवीहरुलाई अपिल गरे । उनले भने,‘बोल्न सुरु गर्नुहोस । जनयुद्ध र जनआन्दोलनले नै देशलाई लोकतान्त्रिक गणतन्त्रमा ल्याएको हो । यो कुरा मन फुकाएर भन्न लाज मान्नुपर्ने कुनै कारण छैन् । सामाजिक न्याय, सुशासन र समृद्धिको अभियानको कुरा गरेका छौं । यो समाजवादतर्फको यात्राको अभियान हो । पार्टी र सरकारले यो विषयलाई निकै गम्भीरतापूर्वक उठाएको छु । प्रधानमन्त्रीको हेसियतमा पनि र पार्टीको अध्यक्षको हैसियतले मैले त्यसतर्फ सक्रियतापूर्वक काम गरेको छु । अहिले नकारात्मक भाष्य बनाउनेहरुलाई देश र जनताको माया छैन् भन्ने देखिन्छ ।’

उनले निराशा बाँड्ने र जनतालाई भ्रमित पार्ने कसरत बिल्कुल गलत भएको टिप्पणी गरे । उनले भने,‘निर्धक्कसँग त्यसखाले प्रवृत्तिलाई परास्त गर्नुपर्छ । जनमतलाई समाजवादी दिशातर्फ डोर्याउनको लागि काम गर्नुपर्छ । अहिले लोकतन्त्र र आन्दोलनमा सक्रियता देख्ने कुरामा कमी आएकै छ । तर, निराश हुनुहुँदैन् । तपाईंहरुलाई लागेको होला, मुख्य लिडर के गरेको होला ? बिग्रिएको हो कि, सप्रिएको हो कि ? भन्ने परेको होला । मुख्य नेतृत्वको बेस्सरी आलोचना हुँदा नमिठो लाग्छ । यो जीवनको उत्तरार्धतिर लागिएको छ । ७० तिर अगाडि बढ्नु भनेको त उत्तरार्धमा लागेको नै हो । म रातदिन जनयुद्धभन्दा कम खटेको छैन् । बरु, जनयुद्धमा त मेरो जीवन सरल नै थियो । अहिले अझ बढि खटिएको छु । हुन त मान्छेले हेर्दा कहिले यता, कहिले उता पनि भन्छन् । तर, मैले पार्टी, आन्दोलन र देशको आवश्यकत्ताअनुसार प्रमुख दलहरु सदनभित्र र बाहिर भएकाहरुलाई संयोजन गर्ने कुरा गरिराखेको छु । कहिलेकाहीँ मलाई यस्तो लाग्छ–कांग्रेस र एमालेलाई पनि संयोजन गर्ने, उहाँहरुको भित्रको समस्या पनि मैले नै समाधान गरिदिनुपरेको मैले काम गरेको छु ।’

उनले आफूले राजनीतिक जीवनमा ठूला ठूला अप्ठ्यारा झेलेको पनि स्मरण गराए । उनले भने,‘मैले अप्ठ्यारोहरु झेलेर आएको छु । पूरै आत्मविश्वासको साथ काम गरेको छु । मेरो परिवारमा निकै नै जटिल परिस्थिति भोगेको छु । तर, मैले आफूलाई अन्तिम समयसम्म सक्रिय राख्ने कोशिस गरेको छु । निराशा होईन, आशावादलाई प्रोत्साहन गरिनुपर्छ । गुटले मान्छेलाई तल तल झार्छ । गुट बनाउनेतिर जाँदा आत्मसम्मान घट्दै जान्छ । पार्टी बनाउनतिर जाँदा सम्मान बढ्छ ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot