Logo

सार्वजनिक ऋण २४ खर्बभन्दा बढी



काठमाडौँ, ७ असार । नेपालको कुल सार्वजनिक ऋण २४ खर्ब नाँघेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८०८१ को जेठ मसान्तसम्ममा आन्तरिक ऋण ११ खर्ब ९२ अर्ब ४८ करोड र बाह्यतर्फ १२ खर्ब सात अर्ब ८६ करोड बराबर रहेको छ ।

चालु आवको सुरुआत अर्थात् २०८० असार मसान्तमा कुल सार्वजनिक ऋण २२ खर्ब ९९ अर्ब ३५ करोड बराबर थियो । चालु आवको ११ महिनामा मात्र एक खर्ब ९९ करोड बराबर ऋण थपिएको हो । हालसम्मको कुल सार्वजनिक ऋणमा आन्तरिक ऋणको हिस्सा ४९ दशमलव ६८ र बाह्य ऋणको हिस्सा ५० दशमलव ३२ प्रतिशत छ ।

बाह्य ऋणतर्फ बहुपक्षिण ऋणदातालाई १० खर्ब ७१ अर्ब ११ करोड र द्विपक्षीय ऋणदातालाई एक खर्ब ३६ अर्ब ७४ करोड बराबर तिर्न बाँकी छ । त्यस्तै, आन्तरिक ऋणतर्फ विकास बण्डको दायित्व सबैभन्दा बढी सात खर्ब ६४ अर्ब ९४ करोड बराबर छ । हालसम्मको ट्रेजरी बिलको दायित्व चार खर्ब १२ अर्ब ६९ करोड, नागरिक बचतपत्रको दायित्व रु १० अर्ब ७५ करोड, वैदेशिक रोजगारी बचतपत्रको दायित्व १७ करोड र आईएमएफ बण्डको दायित्व तीन अर्ब ९१ करोड बराबर छ ।

चालु आर्थिक वर्षका लागि सरकारले कुल चार खर्ब ५२ अर्ब ७५ करोड बराबर ऋण उठाउने लक्ष्य राखेको थियो । जसमध्ये आन्तरिक ऋण दुई खर्ब ४० अर्ब र बाह्य ऋण दुई खर्ब १२ अर्ब ७५ करोड उठाउने लक्ष्य थियो । गत वैशाख मसान्तसम्ममा सरकारले आन्तरिकतर्फ दुई खर्ब २५ अर्ब र बाह्यतर्फ ८२ अर्ब ६७ करोड बराबर ऋण उठाइसकेको छ ।

वार्षिक लक्ष्यका आधारमा हालसम्मको कुल ऋण प्राप्ति ६७ दशमलव ९६ प्रतिशत बराबर हो । आन्तरिक तर्फ वार्षिक लक्ष्यको ९३ दशमलव ७५ र बाह्य तर्फ वार्षिक लक्ष्यको ३८ दशमलव ८६ प्रतिशत बराबर रहेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ ।

चालु आवभित्र उठाइसक्ने लक्ष्य लिइएको ऋणमध्ये वैशाख मसान्तसम्ममा आन्तरिकतर्फ १५ अर्ब र बाह्यतर्फ रु एक खर्ब ३० अर्ब सात करोड गरी कुल रु एक खर्ब ४५ अर्ब बराबर उठ्न बाँकी रहेको कार्यालयका प्रमुख दीर्घराज मैनालीले जानकारी दिए ।

चालु आवमा सरकारी ऋणको साँवा तिर्न दुई खर्ब २५ अर्ब १७ करोड र ब्याज तिर्न एक खर्ब पाँच अर्ब ३८ करोड बराबर विनियोजन भएको थियो । जसमध्ये चालु आवको १० महिनामा साँवातर्फ एक खर्ब ९७ अर्ब ३२ करोड अर्थात् विनियोजित बजेटको ८७ दशमलव ८३ प्रतिशत र बाह्यतर्फ ३१ अर्ब ५२ करोड अर्थात् ७० दशमलव नौ प्रतिशत बराबर भुक्तानी भइसकेको कार्यालयले जनाएको छ ।

चालु आर्थिक वर्षको गत वैशाख मसान्तसम्म तिरिएको सार्वजनिक ऋणको साँवा ब्याजमध्ये आन्तरिकतर्फको भुक्तानी दुई खर्ब २७ अर्ब २० करोड र बाह्य ऋणको साँवा ब्याजमा ४३ अर्ब ९९ करोड बराबर खर्च भएको छ । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot