Logo

चिट्ठा विधेयकमा सरकारको नियत ठीक देखिएनः प्रदेश प्रमुख शर्मा



मनहरी, ७ असार । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेशस्तरको चिट्ठा व्यवस्थापन तथा नियन्त्रण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश सरकारले सही मनसायले नल्याएको बताएका छन् ।

आज प्रदेश प्रमुख कार्यालयमा पत्रकारसँग भएको भेटघाटमा प्रदेश प्रमुख शर्माले विधेयकमा सरकारको नियत ठीक नभएको बताएक हुन् । उनले विधेयकमा भएको प्रावधानले सामाजिक, आर्थिक र राजनीतिक क्षेत्रमा पार्न सक्ने दीर्घकालीन प्रभावलाई विश्लेषण गरेर नै सदनमा पुनःविचारको लागि फिर्ता पठाएको स्पष्टीकरण दिए । संविधानले निर्दिष्ट गरेको अधिकारलाई नै प्रयोग गरेर विधेयक फिर्ता पठाएको उनको भनाइ छ । विधेयक परिमार्जन भएर आए प्रमाणीकरण गर्न कुनै समस्या नरहनेसमेत उनले बताए ।

शर्माले जनताको सुसूचित हुने हकलाई मिडियाले प्रवलीकरण गरेको बताउँदै सञ्चारकर्मीले ‘टिआरपी’ बढाउनै लागि समाचार सम्प्रेषण गर्न भने नहुनेमा जोड दिए । उनले जनतालाई सही सूचना उपलब्ध गराउन सञ्चारमाध्यमको सकारात्मक भूमिका अत्यावश्यक रहेको बताए । “राष्ट्रको उत्थान गर्न, अवसर खोज्न र जनभावनाको कदर गर्न सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुन्छ, त्यसमा पनि ‘न्यु मिडिया’ ले अझ बढी जवाफदेही भएर सकारात्मक भूमिका निर्वाह गर्न आवश्यक छ”, शर्माले भने ।

उनले सञ्चारकर्मीलाई निष्पक्ष ढङ्गले कलम चलाएर इमान्दार पत्रकारिताको नमूना बन्न सक्नुपर्नेमा जोड दिए । रासस/file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot