Logo

अमेरिकामा ‘नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’



काठमाडौं, असार ८ । अमेरिकाको मेरिल्याण्डमा ‘नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ को सातौँ संस्करण सुरू भएको छ। नवीन सुब्बाले निर्देशन गरेको चलचित्र ‘गाउँ आएको बाटो’ को अमेरिका प्रदर्शनी (युएसए प्रिमियर) सँगै सुरू भएको उक्त महोत्सवमा नेपाल, अमेरिका, इरान, जर्मनी, पाकिस्तानलगायत ११ देशका चलचित्र, वृत्तचित्र, छोटा र सजीवता (एनिमेसन) विधाका गरी ३५ चलचित्र प्रदर्शन गरिने महोत्सव निर्देशक पूर्णसिंह बराइलीले जानकारी दिए।

‘नेपाल र अमेरिकाको कला, संस्कृति, परम्परा, ज्ञानलाई चलचित्रमार्फत जोड्ने उद्देश्यले महोत्सव आयोजना गरेका हौँ । यसपटकको संस्करणमा हामीले छनोट गरेका चलचित्रले नेपालको आम जनजीवन र प्रवास नियतिलाई प्रष्ट्याउने छ’, उनले भने।

यही असार ९ गतेसम्म चल्ने उक्त महोत्सवमा प्रदर्शन गरिएकामध्येबाट उत्कृष्ट चलचित्रलाई विभिन्न अवार्ड प्रदान गरिने छ। महोत्सवको उद्घाटन समारोहमा निर्देशक सुब्बासँगै सहभागी भएका अभिनेता दयाहाङ राईले यस्ता गतिविधिले नेपाली चलचित्रको प्रवद्र्धनमा मद्दत पुग्ने बताए।

उनले भने,‘अमेरिकामा बस्ने नेपालीको सक्रियतामा आयोजना हुने महोत्सवले नेपाली चलचित्रका दर्शक बढाउने छन्। यसले नेपाली मात्र नभई विदेशी दर्शकलाई पनि आकर्षित गरेको छ। साथै, यस्ता महोत्सवमा देखाउन योग्य चलचित्र गाउँ आएको बाटो लिएर आउन पाउँदा झनै हर्षित छु।’ महोत्सवलाई नेपाल अमेरिका फिल्म सोसाइटीले आयोजना गरेको हो।-रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot