Logo

राजनीतिक भाषणमा होइन, विकासको राजनीतिमा विश्वास गर्छुः विनोद चौधरी



काठमाडौं, ८ असार । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य विनोद चौधरीले राजनीति भाषणका लागि नभई विकासका लागि हुनुपर्नेमा जोड दिएका छन् । कांग्रेसबाट नवलपरासी निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित सांसद चौधरीले विकासका लागि राजनीति रोजेको प्रष्ट पारे ।

शनिबार नवलपरासीमा स्वर्गीय पृथ्वीराज कँडेल बसपार्कको उद्घाटन एवम् शालिक अनावरण कार्यक्रममा प्रतिष्ठित उद्योगपतिसमेत रहेका सांसद चौधरीले भने,”म निर्वाचित भइसकेपछि निरन्तर यो क्षेत्रको विकासका लागि प्रतिवद्ध भएर लागेको छु । यहाँको विकासबाहेक मेरो अरु कुनै स्वार्थ छैन ।”

उनले डेढ वर्षको बीचमा आफूले गरेका महत्वपूर्ण कामका बारेमा जानकारीसमेत गराएका थिए । वर्षायाममा वर्षेनी डुवानको समस्या भोग्दै आएको नवलपरासीमा गण्डक परियोजना अन्तर्गत डुबानको समस्या अन्त्य गर्ने गरी काम भइरहेको उनले बताए । यो परियोजनाको काम सुरु भइसकेको छ । यो क्षेत्रमा डुवानका कारण वर्षाैंदेखि हजारौं विघामा लगाइएको बाली नष्ट हुने गरेको छ । हजारौं किसान घरबारविहीन हुने गरेका छन् । यो विडम्बनाको अब अन्त्य हुनेछ भन्ने हाम्रो विश्वास छ, सांसद चौधरीले भने, यसको डीपीआर मात्रै तयार भएको छैन । यसको कार्यान्वयन सुरु भइसकेको छ । हाम्रो निरन्तरको पहलमा सरकारले बजेटमा समेत राखेको छ ।

उनले गण्डक परियोजनाले अब सार्थकता पाउने विश्वास गरे । दुबै देशबाट डुवान र कटान नियन्त्रणका लागि काम भइरहेको उल्लेख गर्दै उनले सिचाईको समस्या पनि समाधान हुने बताए ।

कांग्रेस सभापति शेरबहादुर देउवासमेत सहभागी रहेको कार्यक्रममा सांसद चौधरीले अबको राजनीति विकास र समृद्धिका लागि हुनुपर्ने बताए । वर्षेनी हुने गरेको मलको अभाव हटाउन आफू सुरुदेखि नै सरकारसँग संवाद गरिरहेको सांसद चौधरीले बताए । उनले निर्वाचन क्षेत्रमा स्वास्थ्य, शिक्षा, रोजगारीको सुनिश्चिताका लागि काम भइरहेको जनाए । सुरुदेखि नै हामी विभिन्न सामाजिक कार्यमार्फत् यहाँका जनतासँग जोडिरहेका छौं । युवा र महिलालाई उद्यमशील बनाउन विभिन्न कार्यक्रमहरु भइरहेका छन्, उनले भने, यसका लागि सबैको हातेमालो आवश्यक हुन्छ ।

उनले साना तथा मझौला उद्योगको स्थापना, ट्रमा सेन्टर निर्माण, चिसापानी अस्पतालको स्तरोन्नति, युवालाई प्राविधिक शिक्षालगायतका दर्जनौं कार्यहरु भइरहेको बताए ।

सांसद चौधरीले स्वर्गीय पृथ्वीराज कँडेलको योगदानका विषयमा पनि चर्चा गरेका थिए । स्वर्गीय पृथ्वीराज कँडेल नेपाली कांग्रेसका तर्फबाट २०१५ सालको आमनिर्वाचनमा निर्वाचित जनप्रतिनिधि हुन् । उनले ६५ वर्षअघि नवलपरासीको महेशपुरमा बसपार्क निर्माण गर्ने परिकल्पना गरेका थिए । त्यसका लागि जग्गाको व्यवस्थापन पनि गरेका थिए ।

उनका छोरा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व गृहराज्यमन्त्री देवेन्द्र कँडेलको पहलमा बसपार्क निर्माण सम्भव भएको हो । नवलपरासी जिल्लाकै पहिलो जननिर्वाचित जनप्रतिनिधि स्वर्गीय पृथ्वीराज कँडेलको सम्मानका लागि उनको नाममा बसपार्क निर्माण गरिनुका साथै बसपार्क परिसरमा अर्धकदको शालिकको अनावरण गरिएको हो ।

सांसद चौधरीले भने, धेरै समाजसेवी काम गर्नुभएका स्वर्गीय पृथ्वीराज कँडेलको सम्झना हाम्रा सामू अझै संयौं वर्ष रहिरहनेछन् । देशमा प्रजातन्त्र स्थापनाका लागि र यो जिल्लाको समग्र विकासका लािग उहाँले खेल्नुभएको भूमिका र योगदान हाम्रा लागि स्मरणीय छन् र अनुकरणीय छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot