डा. विप्लव ढकाल
माता/पिता : पुष्पा/तोयानाथ ढकाल
जन्ममिति : वि. सं. २०२४ वैशाख १ गते
जन्मस्थान : अरुण गाउँपालिका– ५, याकू, भोजपुर
स्थायी ठेगाना : काठमाडौं– १०, नयाँ बानेश्वर
शिक्षा : विद्यावारिधि
पेशा : प्राध्यापन (त्रिचन्द्र बहुमुखी क्याम्पस, काठमाडौं)
प्रकाशित कृतिहरू : १. चिताको ज्वाला (लघुकाव्य, २०४२) २. हिउँको यात्रा (मुक्तकसङ्ग्रह, २०४५) ३. भोजपुरको साहित्यिक रूपरेखा (समीक्षात्मक अध्ययन, २०४९) ४. निर्जन बन्दरगाह (कवितासङ्ग्रह, २०५१) ५. अन्तिम नायिका (एकाङ्कीसङ्ग्रह, २०५४) ६ कालो मध्यान्तर (कवितासहसङ्ग्रह, २०६०) ७. भाषासारथि (नेपाली व्याकरण तथा रचना, सहलेखन) ८. प्रोफेसर शर्माको डायरी (लामो कविता, २०६५) ९. च्याउको जङ्गल (कवितासङ्ग्रह, २०७१) १०. भोजपुरको वाङ्मय (विमर्श तथा अभिलेखीकरण, २०७८) ११. विश्वका राष्ट्रिय गान (सम्पादन, २०८०) लगायत ।
संलग्नता : नेपाल वाङ्मय फाउन्डेशन (अध्यक्ष), नेपाल प्रज्ञा–प्रतिष्ठान (प्राज्ञ सभा सदस्य) आदि ।
पुरस्कार तथा सम्मान : १ षडानन्द प्रतिभा पुरस्कार, (२०५०) २. ललिता काव्य पुरस्कार (२०५१) ३. भानुभक्त लेखन पुरस्कार (२०५३) ४. शब्दघर सम्मान (२०५५) ५. युवावर्ष मोती पुरस्कार (२०६१)६ गरिमा सम्मान पुरस्कार (२०६२) ७. प्रतिभा पुरस्कार, बेलायत (२०६८) ८. ससिद्धि राष्ट्रिय कलाश्री युवा पुरस्कार (२०६८) ९. नन्दिकेश्वर अधिकारी शोधसम्मान (२०७०) १०. राष्ट्रिय प्रतिभा पुरस्कार (२०७३) ११. ज्योति स्रष्टा सम्मान (२०७३) १२. साहित्य सौरभ सम्मान, नयाँदिल्ली (२०७४) १३. डा. नरेन्द्र चापागाईँ स्मृति साहित्य पुरस्कार (२०७९) १४. किरात एकेडेमी पुरस्कार (२०७९) १५. शब्दयात्रा कृष्ण जोशी भोजपुर प्रतिभा विशेष सम्मान (२०७९) १६. सर्वोत्कृष्ट पर्या–कविता पुरस्कार (२०८०) १७. विभिन्न सङ्घसंस्थाबाट सम्मानपत्र तथा अभिनन्दनपत्र ।
प्रथम प्रकाशित रचना : तिनीहरू राँकेभूत होइनन् (कविता, २०४२)
यहाँको साहित्य लेखन कहिलेदेखि सुरू भयो ?
मेरो लेखनको प्रारम्भ वि. सं. २०३५/३६ देखि भएको हो ।
कसबाट र कसरी प्रभावित हुनुभयो ?
गाउँको रमणीय प्राकृतिक वातावरण, पाखापखेरामा गुञ्जिने लोकगीतहरू, गाउँको विद्यालयको शारदा पुस्तकालय तथा गुरूहरूको प्रेरणाबाट मेरो प्रारम्भिक लेखनयात्रा प्रभावित भएको हो ।
कसरी बढिरहेको छ त लेखन गतिविधि ?
म कविता सिर्जना तथा कवितासम्बन्धी विमर्शमा निरन्तर कियाशील रहँदै आएको छु ।
वर्तमान लेखनप्रति सन्तुष्ट हुनुहुन्छ ?
सन्तुष्टि भनेको आगामी सम्भावनाको अन्त्य हो । नयाँ यात्राका लागि भोक र असन्तुष्टिलाई बचाउनुपर्छ । म आफूभित्रका असन्तुष्टिलाई बचाउन चाहन्छु ।
कुनै नयाँ कृतिको तयारीमा हुनुहुन्छ कि ?
कवितासङ्ग्रह, लामो कविताकृति र स्थानगत आधारबाट साहित्यको समावेशी इतिहासलेखनसँग सम्बन्धित पुस्तकको तयारीमा रहेको छु ।
साहित्य र स्रष्टाप्रति राष्ट्रको कस्तो जिम्मेवारी रहन्छ जस्तो लाग्छ ?
साहित्य भनेको कुनै पनि राष्ट्रको बौद्धिक सम्पदा हो । सभ्यताको प्रतीक हो । स्रष्टाहरू युगीन चेतनाका संवाहक हुन् । त्यसैले साहित्य र स्रष्टाप्रति राष्ट्रको गम्भीर जिम्मेवारी रहन्छ ।
तपाईंको साहित्यिक आदर्श के हो ?
विचारको सौन्दर्य र कलाको उच्चतम मूल्य नै मेरो लेखनको आदर्श हो ।
वर्तमानमा नेपाली लेखकले आफ्नो लेखकीय दायित्व वहन गरिरहेका छन् त ?
अहिले साहित्यको बजारमा धेरै थरी लेखक छौँ । ठूलो भीड छ । कोही आफ्नो लेखकीय दायित्वप्रति सचेत छौँ । कोही लेखनका नाममा सस्तो ठट्टा र मजाक पनि गरिरहेका छौँ ।
साहित्य लेखनमा हिजो र आजको तुलना कसरी गर्नुहुन्छ ?
हिजो पनि गम्भीर कृति लेखिएका थिए र आज पनि लेखिँदै छन् । समग्रमा भन्दा आजको लेखनले सांस्कृतिक रूपान्तरण र समाजशास्त्रीय मूल्यलाई बढी सचेत रूपमा सम्बोधन गरेको छ ।
तपाईँको विचारमा कस्तो साहित्य लेखिनुपर्छ ?
सामाजिक सरोकारप्रति केन्द्रित र कलात्मक मूल्यप्रति सचेत साहित्य नै आजको आवश्यकता हो ।
लेखनप्रति केले प्रेरणा दिन्छ जस्तो लाग्छ ?
आफू बाँचेको समयका कुरूपता र सौन्दर्य, जीवनका घातप्रतिघात र सपनाहरू तथा मानवीय मूल्यको खोजी गर्ने जाग्रत इच्छा नै लेखनका लागि प्रेरणाका स्रोत हुन् ।
तपाईंको लेख्ने निश्चित समय छ कि ?
आफूभित्रको आन्तरिक दबाव र मुड चलेको बेला लेख्छु । जबरजस्ती लेख्न सक्दिनँ । आफूभित्रको आँधीलाई धैर्यसाय पर्खिन्छु ।
लेख्न कस्तो वातावरण चाहिन्छ ?
सकेसम्म शान्त वातावरणमा लेख्छु तर कहिलेकाहीँ भीड र कोलाहलमा पनि लेखेको छु ।
लेख्ने विषयवस्तु कसरी छान्नुहुन्छ ?
म भ्रमणप्रिय मान्छे हुँ । कविताका पात्र र विषय खोज्दै हिँडिरहेको हुन्छु । आफू बाँचेको समय र समाजको सूक्ष्म अवलोकनबाट नै म आफ्ना रचनाका विषयवस्तु खोजिरहेको हुन्छु ।
सफल स्रष्टाका आवश्यक गुण के के हुन् ?
सिर्जनशील यात्रा भनेको लामो दौड हो । निरन्तरता, प्रतिबद्धता, जिम्मेवारी र समर्पण नै सफल स्रष्टाका गुण हुन् जस्तो लाग्छ ।
साहित्यमा कुन विधाका पाठक बढी भएको महसुस गर्नुहुन्छ ?
पाठकका अभिरुचि फरक–फरक छन् । सबै विधाका आ–आफ्नै पाठकहरू हुन्छन् । पछिल्लो समयमा आख्यानको बजार अलि बढिरहेको देखिन्छ ।
सृजनामा सजीवता र काल्पनिकतामध्ये कुन बढी हुनुपर्ला ?
सष्टाले आफू उभिएको जमिन र जरालाई बिर्सिनु हुँदैन । यथार्थ र सजीवता नै साहित्यको मूल धरातल हो । त्यसैको जगमा आधारित कल्पनाले मात्र सिर्जनालाई सुन्दर र विश्वसनीय तुल्याउँछ ।
लेख्नुपर्ने बाध्यता कति बेला महशुस हुन्छ ?
मेरा लागि लेखन बाध्यता होइन– समर्पण हो । समय र समाजसँग संवाद गर्नका लागि मैले रोजेको बाटो हो । त्यसैले यसलाई मैले जीवनशैलीको एउटा अङ्गका रूपमा वरण गरेको छु ।
नयाँ लेखकलाई केही सुझाव दिनुहुन्छ कि ?
लेखक उमेरले होइन– विचारले नयाँ हुन्छ । त्यसैले धैर्य र जिम्मेवारीपूर्वक लेखौँ । आफूलाई निरन्तर नवीकरण गर्ने चेतनासहित लेखौँ ।
किन कोही स्रष्टा दलको झण्डामुनि ओत लाग्ने रहर गर्छन् ?
यो स्रष्टाको व्यक्तिगत स्वतन्त्रता हो । राजनीतिक दलको झण्डाभित्र ओत लागे पनि, नलागे पनि हामी राजनीतिबाट टाढा छैनौँ । मूल कुरा हामीले आफ्नो लेखनलाई राजनीतिको दास बनाउनु हुँदैन ।