Logo

विश्वकप क्रिकेटः बंगलादेशलाई हराउँदै सेमिफाइनल नजिक भारत



काठमाडौं, असार ९ । आइसिसी टी- २० विश्वकपअन्तर्गत ‘सुपर-८’मा भारतले लगातार दोस्रो जित निकाल्दै सेमिफाइनलको निकै नजिक पुगेको छ ।शनिबार राती सम्पन्न खेलमा भारतले बंगलादेशलाई ५० रनले पराजित गरेको हो । यसअघि पहिलो खेलमा भारतले अफगानिस्तानलाई ४७ रनले पराजित गरेको थियो ।

भारतले दिएको १ सय ९७ रनको लक्ष्य पछ्याएको बंगलादेशले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १ सय ४६ रन मात्रै बनाउन सक्यो । बंगलादेशका कप्तान नजमुल शान्तोले सर्वाधिक ४० रन बनाए । तन्जिद हसन २९, रिशाद हुसेन २४, लिटनकुमार दास १३, महमुदउल्लाह १३ र शाकिब अल हसन ११ रनमा आउट हुँदा अन्यले राम्रो प्रदर्शन गर्न सकेनन् ।

भारतका कुलदीप यादवले सर्वाधिक तीन विकेट लिए । अर्शदीप सिंह र जसप्रीत बुमराहले समान दुई विकेट लिँदा हार्दिक पाण्ड्याको नाममा एक विकेट रह्यो । त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १९६ रन बनाएको थियो । भारतका लागि ब्याटिङतर्फ हार्दिक पाण्डेयले अर्धशतकीय पारी खेले । उनले २७ बलमा ५० रन पूरा गरे ।

विराट कोहलीले ३७ रनको योगदान दिए । कप्तान रोहित २३, ऋषभ पन्त ३६, शिवम दुबे ३४ तथा सुर्यकुमार यादवले छ रन बनाए । अक्षर पटेल ३ रनमा अविजित रहे । यता, बलिङतर्फ बंगलादेशको लागि तान्जिन साकिब र रिशाद हुसेनले समान दुई विकेट लिँदा शकिब अल हसनले एक विकेट हात पारे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot