Logo

विश्वप्रकाश शर्माको गर्जन : हामीलाई जीबी राई चाहिएको हो, उनको लोकेशन होईन (भिडिओसहित)



काठमाडौं, ९ असार । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सहकारी ठगी प्रकरणमा फरार रहेको जीवी राईलाई पक्राउ गर्न किन ढिलाई भएको भन्दै प्रश्न गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले यस्तो प्रश्न गरेका हुन् । उनले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछाने नै संलग्न रहेको बताए । गृहमन्त्रीले जीवी राईको लोकेशन पत्ता लागिसक्यो भनेर मिडियामा बिस्कुन लगाउने काम गरेको तर पक्राउ गर्न नचाहेको शर्माको आरोप छ ।

उनले भने,‘गत असार ६ गते माननीय गृहमन्त्रीजीले चितवनमा पुगेर भन्नुभयो कि मलेसियाका गृहमन्त्रीसँग सम्पर्कमा छु, र जीवी राईको लोकेशन पत्ता लागिसकेको छ । पोईन्ट टु बी नोटेड भन्छ नि सभामुख महोदय, म भन्न चाहन्छु एउटा फरार अभियुक्त कहाँ छन् भने देशले खोजिरहेको बेलामा अर्को देशको गृहमन्त्रीले हामीले लोकेट गरिसक्यौं भन्छन् । सामाजिक सञ्जाल चलाउन उनलाई पनि आउँछ । सामाजिक सञ्जालमा नेपालको गृहमन्त्रीसँग कुरा भएको भनेर लेख्छन् । गोपनियता खोल्दैनन् । तर, हाम्रो गृहमन्त्रीले त गोप्य सूचनाको (राजपत्रमा प्रकाशित गर्नबाहेक) मिडियामा बिस्कुन लगाउनुहुन्छ । यो कुरा संसारलाई थाहा छ कि गोरखा मिडियाका दुई जना मालिकमध्ये एक जना फरार छन् । एक जना चाहीँ गृहमन्त्री हुनुहुन्छ । सहकारी ठगीमा फरार भएको व्यवसायिक साथीलाई सहकारी ठगीमै अनुसन्धानको दायरामा रहेका गृहमन्त्रीले गिरफ्तार गर्नुछ । त्यसैले लोकेशन पत्ता लागिसक्यो भनेर माईकबाटै फुकेर के अर्थ हुन्छ ? अभियुक्त पक्रने नयाँ शैली हो ? केटाकेटीपन हो ? या भगाउने नियत हो ?’ उनले देशलाई जीवी राईको लोकेशन नभएर जीवी राई चाहिएको बताए ।

उनले भने,‘अब त्यो लोकेशनमा गेट बनाएर कार्पेट ओछ्याएर अनि दुई पक्षीय वार्ता हुने हो ? म प्रश्न गर्न चाहन्छु ।’ लोकेशन पत्ता लागिसकेपछि जीवी राई पक्राउ गर्न चार दिन किन लाग्यो भन्दै प्रश्नसमेत गरे ।



प्रतिक्रिया दिनुहोस्