Logo

आईटी आर्मीको आन्दोलनको आज ८औं दिन, कालोपट्टी बाँधेर वैदेशिक रोजगार विभागमा घेराउ जारी



काठमाडौं, ९ असार । आम जनता पार्टीको भातृ संगठन आईटी आर्मीले वैदेशिक रोजगारमा ठगिएका पीडितलाई न्याय दिलाउनको लागि आन्दोलन जारी राखेको छ । आज (आइतबार) आन्दोलनको ८औं दिनपनि आईटी आर्मीले आन्दोलनलाई जारी राखेको छ ।

विदेश जाने कामदारसँग अवैध ढंगले लिएको रकम फिर्ता गर्नुपर्ने, ठग मेनपावर र एजेन्टटलाई कारवाही गर्नुपर्ने, बेरोजगार युवाहरुलाई नेपालमै रोजगारी दिनुपर्ने, वैदेशिक रोजगार पीडितहरूलाई न्याय दिनुपर्ने, विदेशमा अलपत्र परेकाहरुको उद्दार गर्नुपर्नेलगायतका माग राखेर आईटी आर्मी आन्दोलित छ ।

आइटी आर्मीले जनपक्षीय मुद्दा उठाउँदै आन्दोलन गरेकोमा यसपटक भने वैदेशिक रोजगारीको नाममा भएको ठूलो ठगीको विरुद्धमा आन्दोलन छेडेको हो । उसले असुरक्षित रोजगारीमा पठाउने अधिकारीलाई कारवाही गर्नुपर्ने, फ्री– भिसा फ्री– टकट व्यवहारतः लागू गर्नुपर्ने, निजी मेनपावरहरु खारेज गरी विदेशमा कामदार पठाउने जिम्मा राज्यले लिनुपर्नेजस्ता प्रमुख मागहरु अघि सारेको छ ।

तर, ती मागप्रति राज्य उदासिन बनेकोमा भने आन्दोलनकारीहरु आक्रोशित बनेका छन् । त्यही आक्रोश पोख्नको लागि आज उनीहरुले सांकेतिक विरोधस्वरूप हातमा कालो पट्टी बाँधेर संघर्षलाई अगाडि बढाएका छन् ।

बेरोजगारको खुलेआम व्यापार भईरहेको र ठगहरुसामू वर्तमान सरकार लाचार भएको स्थितिमा पीडितलाई न्याय दिलाउन आईटी आर्मीले लिएको पहलकदमी सराहनीय रहेको आजपाका अध्यक्ष प्रभु साहको विश्वास छ । उनले देशमा अहिले दलाल भगौडाहरुको हालीमुहाली रहेको र लोकतन्त्रको ठाउँमा दलतन्त्र हाबी भएको टिप्पणी गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot