Logo

रासस तस्बिर प्रदर्शनीबाट राम्रो सन्देश प्रवाह भएको छः एमाले सचिव भट्ट



काठमाडौँ, ९ असार । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सचिव लेखराज भट्टले राष्ट्रिय समाचार समिति (रासस)मा जारी तस्बिर प्रदर्शनी अवलोकन गरेका छन् ।

गणतन्त्र दिवसका अवसरमा आयोजित ‘गणतन्त्रका उपलब्धिः समृद्धिका लागि पूर्वाधार’ तस्बिर प्रदर्शनीको अवलोकन गर्दै पूर्वमन्त्रीसमेत रहेका नेता भट्टले यो व्यवस्थामा केही भएन भन्नेका लागि प्रदर्शनीले राम्रो जवाफ दिएको बताए ।

दुर्गम क्षेत्रका मानिसलाई बिरामी भएका बेला गणतान्त्रिक व्यवस्थाले नै हेलिकप्टरबाट उपचारका लागि लैजाने व्यवस्था गरेका जस्ता सकारात्मक सन्देश दिन प्रदर्शनी सफल भएको उनले बताए । “यहाँ गेटा मेडिकल कलेजजस्ता ठूला संरचनादेखि उच्च पहाडी क्षेत्रमा सडक पहुँच, स्वास्थ्य, शिक्षा, सूचना प्रविधि पूर्वाधारलगायत तस्बिर रहेको प्रदर्शनीले नागरिकमा सकारात्मक सन्देश प्रवाह गर्न सफल छ । यो गणतन्त्रमा केही भएन, विकल्प खोज्नुपर्छ भन्नेका लागि पनि यो गतिलो जवाफ हो”, सचिव भट्टले भने ।

सुदूरपश्चिम प्रदेशका पूर्वआर्थिक मामिलामन्त्री झपट बोहराले तस्बिरमार्फत राससले जीवन्त इतिहास देखाउन सफल भएको प्रतिक्रिया दिए । व्यवस्था परिवर्तनपछिका उपलब्धि देखाउन प्रदर्शनीले महत्वपूर्ण भूमिका खेलेको उनको भनाइ थियो ।

गत जेठ १० गतेदेखि सुरु भएको प्रदर्शनीमा मुलुकका तीनवटै तहका सरकारले आफ्नो सीप, जनशक्ति र पुँजी परिचालन, छिमेकी तथा अन्य मित्रराष्ट्रसमेतको सहयोगमा निर्मित एवं निर्माणाधीन राष्ट्रिय तथा प्रादेशिक गौरवका आयोजनासँग सम्बन्धित तस्बिर समावेश छन् ।

विसं २०७२ को ‘गोरखा भूकम्प’बाट भत्किएको संरचनाको पुनःनिर्माण, मानवीय विकास, शिक्षा, स्वास्थ्य, उद्योग, सडक, सिँचाइ, खानेपानी, विद्युत् उत्पादनलगायत विषयमा राससबाट विभिन्न समयमा सम्प्रेषित ९५ तस्बिर प्रदर्शनीमा राखिएका छन् । राससले गत वर्ष गणतन्त्र दिवसका अवसरमा ‘हाम्रो संस्कृतिः हाम्रो सम्पदा’ शीर्षकमा तस्बिर प्रदर्शनी गरेको थियो । रासस



प्रतिक्रिया दिनुहोस्