Logo

गाजामा विस्थापितलाई आश्रय लिन छुट्ट्याइएका करिब ७० प्रतिशत विद्यालय भवन क्षतिग्रस्त



गाजा, ९ असार । निकट पूर्वका प्यालेष्टिनी शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय राहत तथा कार्य निकाय (यूएनआरडब्लुए) ले विस्थापित परिवारले आश्रय लिइरहेका ६९ प्रतिशत विद्यालय भवनमा प्रत्यक्ष रुपमा क्षति पुगेको जनाएको छ ।

यूएनआरडब्लुएले आइतबार सामाजिक सञ्जाल एक्समा मानवीय कानूनको घोर अवहेलना रोक्नैपर्ने बताउँदै लेखेको छ, “गाजामा कहीँ पनि सुरक्षित छैन । हामीलाई अब युद्धविरामको आवश्यकता छ ।”

“गाजामा ७६ प्रतिशतभन्दा बढी विद्यालयको पुनःनिर्माण आवश्यक छ वा पुनः सञ्चालनका लागि ठूलो पुननिर्माण आवश्यक छ,” युएनआरडब्लुएले भनेको छ।

यस सन्दर्भमा यूएनआरडब्ल्यूएका प्रवक्ता जोनाथन फाउलरले गाजा पट्टीमा इजरायली आक्रमणका कारण भएको विनाशको स्तर धेरै ठूलो रहेको र यसलाई मेटाउन र पुनर्निर्माण गर्न २० वर्षभन्दा बढी समय लाग्ने बताउँदै गाजा पट्टीमा रहेका करिब १७० यूएनआरडब्ल्यूए सुविधाहरूमा बम बारी गरिएको र विभिन्न स्तरमा निरन्तर क्षति भएको बताए ।

उनले आक्रमणको सुरुवातदेखि नै शिक्षा बन्द भएका कारण सबैभन्दा बढी क्षति भएका विद्यालय रहेको बताए । उनले विद्यालयलाई संयुक्त राष्ट्रसङ्घको झण्डाको संरक्षणमा सुरक्षित स्थानको रूपमा स्थापना गरिएको र विस्थापित भएका नागरिकहरूका लागि विद्यालय आपतकालीन आश्रयस्थलमा रूपान्तरण भएको उल्लेख गर्े ।

युएनआरडब्लुएको स्थापना सन् १९४९ मा संयुक्त राष्ट्रसङ्घको महासभाको निर्णयबाट भएको थियो र यसलाई जोर्डन, सिरिया, लेबनान, वेस्ट बैंक र गाजा पट्टीगरी पाँच सीमा क्षेत्रमा प्यालेस्टिनी शरणार्थीलाई सहायता र सुरक्षा प्रदान गर्न अनिवार्य गरिएको थियो । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot