Logo

महिलाहिंसा र असुरक्षाका घटना नियन्त्रण गर्न सांसदहरुको माग



काठमाडौँ, १० असार । राष्ट्रियसभाका सांसदहरुले देशका विभिन्न स्थानमा महिला र बालिकामाथि हिंसा एवं बलात्कारका घट्ना बढेकाले नियन्त्रण गर्न सरकारसँग माग गरेका छन् ।

राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा बोल्दै नेकपा (एमाले) की सांसद सुमित्रा विसीले अछाममा यही असार ३ गते १६ वर्षीया किशोरीमाथि भएको बलात्कारको घट्नाको भत्सर्ना गरिन् । दोषी पत्ता लगाई कारबाही गर्न उनले सरकारसँग माग गरिन् ।

सत्यतथ्य छानबिन गरी गृहमन्त्रीले यस विषयमा सदनमा जवाफ दिनुपर्नेमा उनले जोड दिइन् । सांसद विसीले बाजुरामा पनि १६ वर्षीया किशोरीलाई आत्महत्या गर्न बाध्य पारेको घट्नामा संलग्नलाई कारबाही गर्न माग गरिन् ।

नेकपा (एकीकृत समाजवादी) की सांसद राजेन्द्रलक्ष्मी गैरेले संविधानमा स्वास्थ्यको अधिकार मौलिक हकका रुपमा राखिएको उल्लेख गर्दै यसको कार्यान्वयनका लागि सरोकारवाला निकायले काम गर्नुपर्ने बताइन् । गाउँमा सिटामोल, एम्जिट, जीवनजल जस्ता आधारभूत औषधिको समेत अभाव भएकामा सरकारको ध्यानाकर्षण गराइन् ।

छाउपडीप्रथा हटाउन र छाउगोठ भत्काउन देशभरी अभियान चलाउनुपर्नेमा उनले जोड दिइन् । सांसद बामदेव गौतमले भारतको अयोध्यामा रामको मन्दिर बनाउन नेपालबाट लगिएको शालग्रामको विषयमा सरकारको ध्यानाकर्षण गराए । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot