Logo

नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको बैठक आजदेखि, यस्ता छन् नेपालले तय गरेका एजेन्डा



काठमाडौं, असार ११ । नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको १६औं बैठक आजदेखि काठमाडौंमा सुरु हुँदैछ ।
परामर्श संयन्त्रको बैठकमा नेपालका तर्फबाट परराष्ट्र सचिव सेवा लम्सालले प्रतिनिधिमण्डलको नेतृत्व गर्ने छिन् भने चिनियाँँ पक्षबाट उपविदेशमन्त्री सुन वेइडोङले गर्नेछन् । प्रतिनिधिमण्डलमा विभिन्न मन्त्रालयका वरिष्ठ अधिकारीहरू सम्मिलित हुने जनाइएको छ। बैठकमा सहभागी हुन चिनियाँ उपविदेशमन्त्री सुन तीन दिने भ्रमणका लागि सोमबार नेपाल आईपुगेका हुन् ।

परराष्ट्र मन्त्रालयका अधिकारीका अनुसार बैठकमा नेपालले छलफलका लागि चीनको सहयोग, व्यापार, लगानी र पर्यटन प्रबद्र्धन, कनेक्टिभिटी विस्तार तथा कृषि, शिक्षा, संस्कृति र जनस्तरको सम्बन्धलगायत एजेन्डा तय गरेको छ।

यस्तै, व्यापार तथा भुक्तानीमा विज्ञ समूहको बैठक बस्नेबारे पुन एकपटक छलफल हुने भएको छ। व्यापार तथा भुक्तानीका लागि दुई मुलुकबीच विज्ञ समूह बनाउने निर्णय भइसके पनि हालसम्म एक पटक पनि बैठक बस्न सकिरहेको छैन। नेपाल–चीन व्यापारमा नेपालबाट राँगाको मासु र हेलेज घाँस निर्यात गर्ने यसअघिनै भइसकेको सम्झौता भए पनि कार्यान्वयनको चरणमा गइनसकेकाले उक्त विषय कहाँ पुग्यो भन्ने विषयमा पनि छलफल हुने जनाइएको छ ।

मन्त्रालय स्रोतका अनुसार सीमापार २२० केभी प्रसारण लाइन निर्माण र नेपालमा चिनियाँँ लगानीका परियोजनालाई छिटो सम्पन्न गर्नेबारे पनि बैठकमा छलफल हुने छ। यसअघि नेपाल–चीन सचिवस्तरीय कूटनीतिक परामर्श संयन्त्रको १५औं बैठक गत वर्ष बेइजिङमा भएको थियो। उपविदेशमन्त्री सुनले सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शिष्टाचार भेट गरेका छन् ।

चिनियाँँ उपविदेशमन्त्री सुनले भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेलसँग पनि शिष्टाचार भेटवार्तासमेत गर्ने कार्यक्रम छ। उनी असार १२ गते काठमाडौंबाट स्वदेश फर्किनेछन् ।



प्रतिक्रिया दिनुहोस्