Logo

एमाले चूनोतीकै बीचमा अघि बढिरहेको महासचिव शंकर पोखरेलको भनाई



काठमाडौं, ११ असार । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पार्टी अहिले पनि चुनौतीकै बीचमा अगाडि बढिरहेको र भविष्य उज्यालो रहेको बताएका छन् । एमालेको काभ्रेपलान्चोक जिल्ला कमिटीको ११औं अधिवेशनबाट निर्वाचित जिल्ला कमिटीसदस्यहरूको शपथ ग्रहण कार्यक्रमलाई सोमबार सम्बोधन गर्दै महासचिव पोखरेलले राष्ट्रिय राजनीतिका सन्दर्भमा पार्टी अहिले पनि अप्ठेरो स्थितिमा रहेको बताएका हुन् ।

उनले भने,‘पार्टी चुनौतीकै बीचमा छ तर पार्टीको भविष्य चाहिँ उज्यालो छ, राष्ट्रलाई सही दिशा दिन सक्ने सामथ्र्य कसैसँग छ भने त्यो नेकपा (एमाले)सँग छ ।’ २०७९ सालको निर्वाचन एमालेका लागि त्यति सुखद नरहेको र विशेष गरी बाग्मती प्रदेशको निर्वाचन परिणाम अत्यन्त निराशाजनक रहेको यथार्थ स्मरण गराउँदै उहाँले बाग्मती प्रदेशमा माओवादीसँग मिल्दा पनि सरकार बनाउन नसक्ने अवस्था आउनु पार्टीका लागि गम्भीर चुनौती हो भन्ने कुरा आत्मसात् गर्नुपर्ने बताउनुभयो । सर्वत्र घेराबन्दीको कारण यो स्थिति आएको भए पनि पार्टी बलियो बनाउन आन्तरिक एकता आवश्यकता रहेको उहाँले बताए ।

चौतर्फी घेराबन्दी र पार्टी फुटको अवस्थाबाट एमाले छोटो समयमा नै माथि उठेको बताउँदै महासचिव पोखरेलले पार्टी यात्रालाई अगाडि बढाउन सबै लाग्नुपर्ने बताए । उनले भने,‘अबको हाम्रो यात्रा पछाडि सर्ने होइन, अगाडि बढ्ने यात्रा हो, चुनौती अवश्य छन्, तर हाम्रो पार्टी सङ्कटको होइन, उज्यालो भविष्यतर्फको यात्रामा छ ।’

२०७९ सालको निर्वाचनपछि एमालेले पार्टीको सङ्गठनात्मक कामको ‘होलबडि चेकअप’ गरेको र यसबाट पार्टीको समस्या पहिचान भएको र त्यसलाई सम्बोधन गर्ने काममा एमाले लागेको उनले प्रष्ट पारे । पार्टीको आन्तरिक एकताको कामका लागि एकबर्षका लागि जिल्ला इन्चार्ज अन्य जिल्लाको नेतालाई पठाइएको र अब आफ्नै जिल्लाको नेता इन्चार्ज पठाउने तयारी भइरहेको महासचिव पोखरेलले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्