Logo

जुलियन असान्ज बेलायत जेलबाट रिहाः विकिलिक्स



वासिङ्टन, ११ असार । जुलियन असान्ज अमेरिकी अधिकारीहरूसँग सपुर्दगी सम्झौतामा पुगेसँगै सोमबार बेलायत जेलबाट रिहा भएको विकिलिक्सले जानकारी गराएको छ ।

यो सम्झौताले असान्जको लगभग १४ वर्षको कानुनी सङ्घर्षको अन्त्य भएको छ ।

“जुलियन असान्ज स्वतन्त्र हुनुभएको छ“, विकिलिक्सले सामाजिक सञ्जाल एक्समार्फत जानकारी गरायो । असान्ज संयुक्त राज्य अमेरिकाको सैन्य गोप्यताहरू खुलासा गरेको मुद्दामा जारी सपुर्दगीबाट बच्न पाँच वर्षसम्म बेलायतमा हिरासतमा रहेका थिए ।

असान्ज स्थानीय समयअनुसार बुधबार बिहान अमेरिकी भूभागमा उपस्थित हुनेछ ।

उनलाई बेलायतको जेलमा पाँच वर्ष र दुई महिना सेवा गरेको श्रेयसहित ६२ महिनाको जेल सजाय हुने अपेक्षा गरिएको छ। यसपश्चात उनी आफ्नो देश अष्ट्रेलिया फर्कन सक्छन्।

सन् २०१० देखि वेबसाइट विकिलिक्सको प्रमुखका रूपमा लाखौँ गोप्य अमेरिकी कागजातहरू प्रकाशित गरेको आरोपमा वासिङ्टनले ५२ वर्षका प्रकाशकलाई खोजिरहेको थियो।

अमेरिकाले असान्जलाई इराक र अफगानिस्तानमा भएको युद्धको बारेमा सैन्य गोप्यताहरू खुलासा गरेको आरोपमा मुद्दा चलाउन खोजेको हो ।

असान्जलाई सन् २०१९ मा अमेरिकी सङ्घीय ग्रान्ड ज्युरीले विकिलिक्सले राष्ट्रिय सुरक्षा कागजातको प्रकाशनबाट उत्पन्न भएको १८ वटा अभियोगमा दोषी ठहर गरेको थियो।

असान्जको परिवारले उनको स्वतन्त्रताका लागि गहिरो कृतज्ञता व्यक्त गरेका छन् ।उनकी श्रीमती स्टेलाले अभियानकर्ताहरूलाई धन्यवाद दिँदै सामाजिक सञ्जाल एक्समा “शब्दहरूले हाम्रो अपार कृतज्ञता व्यक्त गर्न सक्दिन“ भनी लेखेका छन् ।

असान्ज संयुक्त राज्य अमेरिकामा सपुर्दगी गर्ने निर्णयलाई अनुमोदन गर्ने फैसलालाई अपिल गर्न बेलायतको अदालतमा उपस्थित हुनु दुई हप्ता अघि सम्झौताको घोषणा भएको हो ।

असान्ज सन् २०१९ को अप्रिलदेखि लन्डनको उच्च सुरक्षा रहेको बेलमार्श जेलमा रहेका थिए।

उनले सन् २००७ मा इराकमा अमेरिकी हेलिकप्टरबाट गोली हानेर सर्वसाधारण मारिएको भिडियो प्रकाशन गरेका थिए । संयुक्त राज्य अमेरिकाले असान्जलाई १९१७ को जासुसी ऐनअन्तर्गत आरोप लगाएको हो ।

बेलायती सरकारले जून २०२२ मा सपुर्दगीलाई स्वीकृति दिएको हो ।

उनले संयुक्त राज्य अमेरिकामा आफ्नो सपुर्दगीको बिरूद्ध अपील गर्न सक्ने दुई बेलायती न्यायाधीशहरूले बताएका थिए ।

अमेरिकामा मुद्दा चलिरहेको विदेशीको रूपमा उनले अमेरिकी अभिव्यक्ति स्वतन्त्रताको अधिकार प्राप्त गर्न सक्ने वा नसक्ने प्रश्नलाई सम्बोधन गर्न अपील गरिएको थियो।

राष्ट्रपति जो बाइडेनको असान्ज विरुद्ध लामो समयदेखि चलिरहेको मुद्दा खारेज गर्ने बढ्दो दबाबका बीच भएको यो अनुरोध सम्झौता पूर्ण रूपमा अप्रत्याशित थिएन । रासस



प्रतिक्रिया दिनुहोस्