Logo

माग पुरा नभएसम्म वैदेशिक रोजगार विभाग घेराउ गरिराख्ने आईटी आर्मीको घोषणा



काठमाडौं । आम जनता पार्टी (आजपा) निकटको आईटी आर्मीले वैदेशिक रोजगारी क्षेत्रका पीडितहरुलाई न्याय दिलाउन माग गर्दै आज दशौ दिन पनि नाराजुलुश सहित काठमाडौंको ताहाचल स्थित वैदेशिक रोजगार विभाग घेराउ गरेको छ ।

नवौं दिनसम्म वैदेशिक रोजगार विभाग अगाडी धर्ना एवं घेराउ गर्दै आएका आन्दोलनकारीले सरकारले आफूहरुको माग सम्बोधन नगरेको भन्दै सरकारको बिरुद्धमा चर्को नारावाजी समेत गरेका छन् ।

वैदेशिक रोजगार विभागको कार्यालय अगाडी निरन्तर नाराजुलुश भईरहेको छ । सरकार र विभागको बिरुद्धमा नाराजुलुश गर्दै विभाग घेराउ गरिए पनि सरकारले नसुने जस्तै गरिरहेको छ । सरकारले आफूहरुको माग सम्बोधन नगरेसम्म आन्दोलन जारी रहने उनीहरुले जनाएका छन् ।

आईटी आर्मीका अध्यक्ष चन्द्रभुषण साहले सरकारले आफूहरुको माग सम्बोधनमा ढिलाई गरेकाले आन्दोलनलाई थप कडा बनाउँदै अगाडी बढने बताए । चर्कोगर्मीका बीचमा विगत नौं दिनदेखी वैदेशिक रोजगार क्षेत्रका पीडितलाई न्याय दिनुपर्ने माग सहित निरन्तर आन्दोलन भईरहेको भए पनि सरकारले कानमा तेल हालेर बसेको टिप्पणी उनले गरेका छन् ।

आईटी आर्मीले वैदेशिक रोजगारीमा जाने कामदारसँग लिएको अबैध रकम फिर्ता गराउन तथा यस क्षेत्रका विविध समस्याहरु समाधान गर्नुपर्ने माग गर्दै विभाग घेराउ एवं धर्ना दिइएको हो । आफूहरुको माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहने चेतावनी आन्दोलनकारीको छ ।

आईटी आर्मीका अध्यक्ष साहका अनुसार विदेश जाने कामदारसँग अवैध ढंगले लिएको रकम फिर्ता गर्नुपर्ने, ठग मेनपावर र ऐजेंटलाई कारवाही गर्नुपर्ने, बेरोजगार युवाहरुलाई नेपालमै रोजगारी दिनुपर्ने, वैदेशिक रोजगार पीडितहरूलाई न्याय दिनुपर्ने, विदेशमा अल्पत्र परेकाहरुको उद्दार गर्नुपर्ने, असुरक्षित रोजगारीमा पठाउने अधिकारीलाई कारवाई गर्नुपर्ने, फ्री – भिसा फ्री – टिकट व्यवहारतः लागू गर्नुपर्ने, नीजी मेनपावरहरु खारेज गरी विदेशमा कामदार पठाउने जिम्मा राज्यले लिनुपर्ने लगायतका माग सरकारले सम्बोधन नगरेकाले आन्दोलन गर्नुपरेको बताए । यस अघि आईटी आर्मीले ११ बुँदे माग सहित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका साथै विभागलाई ज्ञापन पत्र समेत बुझाईसकेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot