Logo

रञ्जितालाई मन्त्री बन्न हतारो



काठमाडौं, १२ असार । प्रधानमन्त्री पुष्पकमल दाहालले यसै साता मन्त्रिपरिषद् पूनर्गठन गर्ने तयारी गरेका छन् । खासगरी सत्ता गठबन्धनमा रहेको नागरिक उन्मुक्ति पार्टीले सरकारमा सहभागी हुन हतार गरेपछि प्रधानमन्त्री दाहालले बजेट पारित हुनुअघि नै मन्त्रिपरिषद् पूनर्गठनको तयारी थालेका थिए ।

तर, सत्ता गठबन्धनको मुख्य घटक नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बजेटअघि मन्त्रिपरिषद् पूनर्ठन गर्न नसकिने अडान लिएपछि प्रधानमन्त्री दाहालपनि रोकिएका थिए । हिजो (मंगलबार) बजेट बहुमतले पारित भएको छ । बजेट पारित हुनुअघि सार्वजनिक रुपमै आलोचना खेपेका प्रधानमन्त्री दाहालले हिजोबाट भने सकारात्मक साथ पाउन थालेका छन् ।

एमाले अध्यक्ष ओलीले बजेट राम्रो भएकोले नै पारित भएको प्रतिक्रिया दिनुले पनि एमाले–माओवादी सम्बन्धमा सुधार भएको बुझ्न सकिन्छ । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ नै यसपटक पनि पार्टीबाट सरकारमा सहभागी हुने तयारीमा छिन् । उनले आफू पर्यटनमन्त्री बन्न लागेको भनेर दुई साताअघि नै हल्ला पिटेकी थिईन् ।

तर, एक महिना हुन लागिसक्यो अहिलेसम्म उनी मन्त्री बन्ने सुरसार छैन् । प्रधानमन्त्री दाहालसँगको भेटमा पनि उनले आफूलाई कहिले सरकारमा सहभागी गराउने भनेर सोध्ने गरेको स्रोतको दाबी छ । जवाफमा दाहालले छिट्टै मन्त्रिपरिषद् पूनर्गठन हुने बताउँदै आएका छन् ।

पछिल्लो समय रञ्जिताले आफूलाई मन्त्री बनाउन ढिलाई गरिएको विषयमा एमाले अध्यक्ष ओलीसँगको भेटमा पनि गुनासो पोखेको बताईन्छ । पार्टीमा संस्थापक रेशमलाल चौधरीसँग विवाद चरम चुलिएको अवस्था छ । तर, उनी पार्टीलाई सुदृढ गर्नुको साटो मन्त्री बन्नमात्रै हतारमा रहेको भनेर पार्टीका नेता तथा कार्यकर्ताहरुले आलोचना गर्न थालेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot