Logo

मानव अधिकार आयोगले सरकारलाई भन्यो: यातना पीडितहरुको न्यायमा पहुँच सुनिश्चित गर



काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले यातना पीडितहरुको न्यायमा पहँच सुनिश्चित गर्न सरकारको ध्यानाकषर्ण गराएको छ । यातना पीडितहरुको सहयोगार्थ अन्तर्राष्ट्रिय दिवस २६ जुनको अवसरमा आज एक विज्ञप्ति जारी गर्दै आयोगले ध्यानाकर्षण गराएको हो ।

‘राष्ट्रिय मानव अधिकार आयोगले स्थापनादेखि नै यातना दिइने कार्यको विरुद्ध अनुगमन तथा अनुसन्धान गर्दै यसको अन्त्यको लागि निरन्तर कार्य गर्दै आएको छ । विशेषगरी, नेपालमा विगतको सशस्त्र द्वन्द्वको समयमा द्वन्द्वरत पक्षले पक्राउ गरी मानसिक तथा शारीरिक यातना दिइएका घटनाहरुको विषयमा उजुरी दर्ता गर्ने र ती घटनाहरुमा आयोगले अनुगमन तथा अनुसन्धान गरी नेपाल सरकार समक्ष सिफारिश गर्दै आएको छ’ आयोगले विज्ञप्तिमा भनेको छ ।

आयोगका अनुसार हाल आयोगमा यातना सम्बन्धी विचाराधीन ३ सय ७० उजुरीमध्ये यस आर्थिक वर्षमा ५५ वटा उजुरीहरुमा अन्तिम निर्णय भई २२ वटा उजुरीमा क्षतिपूर्ति र कारवाहीका लागि सिफारिश भएको छ । जसमध्ये १७ जनालाई ३ लाख ३० हजार क्षतिपुर्ति र १६ जनालाई कारबाहीको लागि सिफारिस गरिएको छ । तर आयोगको सिफारिसबमोजिम कारबाही गर्नेतर्फ सरकारको प्राथमिकता भने देखिएको छैन ।

आयोगले विगतमा यातना विरुद्धको अधिकार संरक्षणको लागि हिरासत तथा कारागारको अनुगमन गर्ने र कारागार तथा हिरासत कक्षहरुलाई यातनामुक्त बनाउनको लागि आवश्यक निर्देशन दिँदै आएको छ । नेपालको संविधानको धारा २२ मा पक्राउ परेको वा थुनामा रहेको व्यक्तिलाई शारीरिक वा मानसिक याताना दिइने वा निजसँग निर्मम, अमानवीय वा अपमानजनक व्यवहार गरिने छैन भन्ने उल्लेख गरिएको छ ।

आयोगले यस्तो कार्य कानुनबमोजिम दण्डनीय हुने र पीडितले क्षतिपूर्ति पाउने हकको व्यवस्था गरिएको उल्लेख गरेको छ । ‘मुलुकी अपराध संहिता, २०७४ ले यातनालाई फौजदारी अपराधको रुपमा परिभाषित गरेको छ । यातनासम्बन्धी क्षेतिपूर्ति ऐन, २०५३, ले यातानापीडितलाई क्षेतिपूर्ति दिने लगायतका व्यवस्था गरेको छ । नेपाल पक्ष राष्ट्र भएको यातना विरुद्धको अन्तर्राष्ट्रिय महासन्धि, १९८४ ले यातनालाई मानवता विरुद्धको अपराधको रुपमा उल्लेख गरेको छ । यी राष्ट्रिय अन्तर्राष्ट्रिय कानूनी व्यवस्थाका बाबजुद् आयोगमा हालका दिनहरुमा पति प्राप्त उजुरी र आयोगको अनुगमनबाट नेपालमा यातना दिने कार्य अन्त्य हुन सकेको देखिँदैन । सशस्त्र द्वन्द्वका यातना पीडितहरुले समेत वर्षौँदेखि न्यायको अनुभूति गर्न नसकेको अवस्था छ’ प्रवक्ता सहसचिव डा टीकारामपोखरेलले भनेका छन् ।

व्यक्तिलाई यातना दिइने जस्तो अमानवीय तथा अपराधजन्य कार्य कहिँ कतैबाट पनि नगर्न, नगराउन, आयोगका सिफारिसहरु पूर्ण रुपमा कार्यान्वयन गर्न र यातना पीडितहरुको न्यायमा पहुँच सुनिश्चित गर्न आयोगले सम्बन्धित सबैमा आग्रह गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot