Logo

बीआरआई अघि बढाउन प्रधानमन्त्री दाहाल आँतुर, ऋणमा कि अनुदानमा ?



काठमाडौं, १२ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल चिनियाँ सहयोग परियोजना बीआरआई अघि बढाउन हतारिएका छन् । चिनियाँ उपविदेशमन्त्री सुन वेइडोङ नेपाल भ्रमणमा रहेको बेलामा नै बीआरआईमा सम्झौता हुने आँकलन गरिएको थियो । तर, सडकदेखि सदनसम्म बीआरआईमा अघि बढाउने विषयमा हतार नगर्न दबाब बढेपछि प्रधानमन्त्री दाहाल ब्याक भएको बुझिएको छ। चिनियाँ पक्ष बीआरआईलाई अघि बढाउन आवश्यक कार्यान्वयन योजना दस्तावेजसहित काठमाडौं ओर्लिएको चर्चा छ । तर, नेपाल पक्षले भने त्यस्तो तयारी नभएको जनाएको छ ।

चिनियाँ उपविदेशमन्त्री वेइडोङले सहमतिमा हस्ताक्षरको लागि परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसमक्ष कुरा राखेपछि द्धिपक्षीय सहमति नहुँदा हस्ताक्षर नभएको बुझिएको छ । नेपाल सरकारले चिनियाँ सरकारको महत्वपूर्ण परियोजना बीआरआई अघि बढाउनको लागि सन् २०१७ मै हस्ताक्षर गरेको थियो । त्यतिवेला सरकारको नेतृत्व अहिलेकै प्रधानमन्त्री पुष्पकमल दाहालले गरेका थिए । अर्थमन्त्रीको भूमिकामा भने कृष्णबहादुर महरा थिए । अहिले प्रचण्ड नै सरकारको नेतृत्वमा भएको बेलामा बीआरआई अघि बढाउनको लागि हस्ताक्षर गर्ने चिनियाँ पक्षको तयारी छ ।

प्रधानमन्त्री प्रचण्डसमक्ष सदनमा समेत बीआरआईको विषयमा सांसदहरुले गम्भीर प्रश्न उठाएका थिए । उनीहरुले बीआरआई अनुदानमा भएमात्रै लिन भनेका छन् । ऋणमा लिईए देश टाँट पल्टिने उनीहरुको दाबी छ । नेपालमा बीआरआईको विषयमा राजनीतिक दलहरुपनि विभाजित छन् । नेपाली कांग्रेसले त बीआरआई ऋणमा लिन नहुने अडान लिएको छ । पूर्व परराष्ट्रमन्त्री डा. नारायण खड्काले पनि बीआरआई अनुदानमा लिनुपर्ने बताएका छन् ।

ऋणमा लिईए नेपालले ठूलो आर्थिक संकट भोग्नुपर्ने उनको भनाई छ । नागरिक समाजका अगुवा डा. सुन्दरमणि दीक्षितले पनि बीआरआई नेपालको लागि घातक हुने बताएका छन् । उनले ऋणमा लिई श्रीलंकाले भोगेको हालत भोग्नुपर्ने टिप्पणी गरेका छन् । लोसपाका पूर्व नेता केशव झाले पनि चिनियाँ ऋणको पासोमा पर्न नहुने धारणा राखेका छन् ।

प्रधानमन्त्री दाहालले सदनमा बीआरआई अनुदान (ग्रान्ट) मा नै लिने बताए । तर, ऋणमा लिनुपरे विश्व बैंक वा एडिबीले दिने ऋणको ब्याजदरभन्दा माथि नजाने पनि उनको भनाई छ । प्रधानमन्त्री दाहाल १.५ प्रतिशतसम्मको ऋणमा भएपनि बीआरआई लिनेगरि अघि बढेको छ । चिनियाँ लगानीमा बनेका पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलकै कारण मुलुक टाँट पल्टिन लागेको चर्चापनि सुरु भैसकेको छ । अहिले दुवै विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान हुन सकेको छैनन् । file photo



प्रतिक्रिया दिनुहोस्