Logo

इरानको राष्ट्रपतीय निर्वाचनमा पूर्वराष्ट्रपति रौहानी पेजेशकियानको पक्षमा



तेहरान, १२ असार । इरानका पूर्वराष्ट्रपति हसन रौहानीले इरानको राष्ट्रपतीय निर्वाचनमा सुधारवादी उम्मेदवार मसूद पेजेशकियानलाईसमर्थन गरेका छन्।

गत महिना हेलीकप्टर दुर्घटनामा दिवङ्गत भएका इब्राहिम रायसीभन्दा पहिले इरानको नेतृत्वमा रहेका उदारवादी राजनीतिज्ञ रौहानीले राष्ट्रपतीय निर्वाचनमा उम्मेदवार रहेका एक मात्र सुधारवादी नेता पेजेस्कियानले ऐतिहासिक आणविक सम्झौता लागू नहुँदा इरानी अर्थतन्त्रमा परेको ‘प्रतिबन्धको छायाँ हटाउन’ सक्ने बताएक छन् ।

“शुक्रबार हामीले इरानी जनताबाट प्रतिबन्धको छायाँ हटाउन कटिबद्ध व्यक्तिलाई मतदान गर्नुपर्छ,” सुधारवादी शार्ग दैनिकले प्रकाशित गरेको भिडियो सन्देशमा रूहानीले पेजेशकियानको ‘इमानदारी’ र ‘वफादारी’ को प्रशंसा गर्दै भनेका छन् ।

सन् २०१५ मा अमेरिका र अन्य शक्तिराष्ट्रसँग भएको आणविक सम्झौताका लागि वार्ता गरेका रौहानीले सन् २०१८ मा वासिङ्टनले एकतर्फी रूपमा आणविक सम्झौताबाट पछि हटेपछि पारित भएको सम्झौतालाई पुनर्जीवित गर्न पेजेस्कियान कटिबद्ध रहेको बताएका छन् ।

तेहरानको आणविक गतिविधिलाई नियन्त्रण गर्ने उद्देश्यले गरिएको सम्झौतालाई पुनर्जीवित गर्न कूटनीतिक प्रयासहरू असफल भएका छन् ।

सन् २००८ देखि उत्तरपश्चिमी शहर ताब्रिजको प्रतिनिधित्व गर्दै आएका ६९ वर्षीय पेजेशकियान मुटु रोग विशेषज्ञ हुन् ।

इरानको राष्ट्रपतीय चुनावमा प्रतिस्पर्धामा उत्रिएका छ जनामध्ये उनी सभामुख मोहम्मद बघेर गालिबाफ र पूर्व आणविक वार्ताकार सइद जलिलीसँग प्रमुख दाबेदारमध्ये एक मानिन्छन् ।

पूर्वराष्ट्रपति मोहम्मद खतामी र पूर्व विदेशमन्त्री मोहम्मद जवाद जरिफलगायतका सुधारवादी व्यक्तित्वहरूले पेजेस्कियानको उम्मेदवारीलाई समर्थन गरेका छन् ।

मङ्गलबार खातामीले आगामी मतदान ‘परिवर्तन’ का लागि ‘अवसर’ भएको र पेजेशकियान ‘सही, न्यायको पक्षधर, भ्रष्टाचार विरोधी र मेधावी’ नेता भएको बताएका थिए ।

तेहरानका कन्जरभेटिभ मेयर अलिरेजा जकानी, मौलवी मुस्तफा पोरमोहम्मदी र वर्तमान उपराष्ट्रपति अमिरहुसेन गाजिजादेह–हासेमी पनि चुनावी प्रतिस्पर्धामा छन् । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot