Logo

चाँदीको मण्डपसहित गहवामाईको रथयात्रा हुँदै



वीरगञ्ज (पर्सा), १४ असार । यहाँको प्रसिद्ध गहवामाईको रथयात्रा यही असारको २३ गते हुने भएको छ ।

गहवामाईको नवनिर्मित मन्दिरको १२औँ वार्षिकोत्सवका अवसरमा आयोजना हुने रथयात्रामा भारतसहित मधेस प्रदेशका एक लाखभन्दा धेरैको सहभागिता रहने गहवामाई रथयात्रा समितिले जनाएको छ ।

समितिका अध्यक्ष श्याम पोखरेलले रथयात्राको तयारी अन्तिम चरणमा पुगेको बताए । “हामीले गत वर्षदेखि गहवामाईको रथयात्रा निकाल्न सुरु गरेका हौँ । भक्तजनको उत्साहजनक सहभागिता भएकाले यो वर्ष पनि निरन्तरता दिनेछौँ । ऐतिहासिक तथा सांस्कृतिक धरोहरलाई मुलुकभर चिनाउन रथयात्रा गर्न लागेका हौँ”, उनले भने ।

अध्यक्ष पोखरेलले गहवामाईको रथमा १५ किलोको चाँदीको मण्डप बनाउन लागेको बताए ।

गहवामाई रथयात्रा समितिका सल्लाहकार दिनाप्रसाद गुप्ताले गहवामाई माताको पूजा आराधनासँगसँगै पर्यटकीय क्षेत्रको प्रचारप्रसारका लागि रथयात्रा आयोजना हुन लागेको बताए । चाँदीको मण्डपसहितको रथयात्राका निम्ति ४० लाख विनियोजन गरिएको छ । एक महिनादेखि काष्ठकर्मीहरू गहवामाईको रथ निर्माणमा जुटेका छन् । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot