Logo

सिरहामा रासायनिक मलको पर्याप्त मौज्दात



सिरहा, १४ असार । यस वर्ष जिल्लाका किसानले धान रोपाइँको समय रासायनिक मलको अभाव झेल्नु नपर्ने भएको छ । कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय लहानसँग पर्याप्त मौज्दात मल भएकाले सिरहाका किसानलाई समस्या नहुने भएको हो ।

जिल्लामा आवश्यक रासायनिक मल तीन किस्तामा वितरण भइरहेको लहानस्थित कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालयले जनाएको छ । बाँकी मल आउने क्रम जारी रहेकाले अभाव नहुने कार्यालयका प्रमुख दीपकराज पौडेलले जानकारी दिए । यसअघि कम्पनीले बजार मागअनुसार मल ल्याउन नसक्दा किसानले अभाव झेल्नुपरेको उनको भनाइ छ ।

प्रमुख पौडेलका अनुसार सिरहामा करिब ६३ हजार नौ सय ६८ हेक्टर जमिन खेतीयोग्य रहेको छ । बजारको माग अनुसार नै रासायनिक मलको आयात भइरहेकाले मौज्दात रहेको मल वितरण भइरहेको उनले जानकारी दिए । रासायनिक मलको सबैभन्दा धेरै माग असारमा हुने भन्दै मागअनुसारको थप मल आइरहेकाले अभाव नहुने उनले बताए ।

“हामीले असार सुरुदेखि पहिलो चरणको सात सय मेट्रिकटन रासायनिक मल वितरण गरिसकेका छौँ । अहिले दोस्रो चरणको आठ सय मेट्रिकटन वितरण भइरहेको छ । तेस्रो चरणमा यही असार २२ गतेसम्म वितरण हुन्छ”, प्रमुख पौडेले भने, “यसरी सबै किसानलाई आवश्यकताका आधारमा मल वितरण गरिने हुँदा ढुक्क हुनलाई म आग्रह गर्दछु ।” युरिया, डिएपी, पोटासलगायत रासायनिक मल कम्पनीसँग प्रयाप्त मौज्दात रहेको उनको भनाइ छ ।

जिल्लाका किसानका लागि पालिकाले तोकेका कृषि सहकारी संस्थामार्फत मल वितरण हुँदै आएको छ । सम्बन्धित निकायले पहुँचका आधारमा सिफारिस गर्ने हुनाले वास्तविक किसान मल पाउनबाट छुटेको हुनसक्ने भन्दै पौडेलले भने, “कतिपय किसानले मलखाद नपाएको गुनासो आएको छ । किस्तामा मल वितरण गर्नुपरेकाले उहाँहरुको पालो अब क्रमशः आउने छ ।”

जिल्लामा कृषि सामग्री केन्द्रसँगै साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले पनि रासायनिक मल वितरण गरिरहेको छ । कृषि ज्ञान केन्द्रले आवश्यकता अनुसार पालिकालाई रासायनिक मलको कोटा निर्धारण गर्ने र पालिकाले सोहीअनुसार पत्र पठाएपछि मल प्रदान गरिने पौडेलले जानकारी दिए ।

गत वर्षभन्दा यसवर्ष धेरै मल आयात भएकाले मल अभाव नहुने उनको विश्वास छ । रासायनिक मलले गोठमलभन्दा तुरुन्त काम गर्ने, लागत कम लाग्ने, उत्पादन र उत्पादकत्व बढाउने किसानको भनाइ छ । रासस



प्रतिक्रिया दिनुहोस्