Logo

डा. भट्टराईको नेतृत्वमा नेपालमै पहिलोपटक मिनिमल्ली इनभासिभ प्रविधिबाट मुटुको भल्व (माईट्रल भल्व) परिवर्तन



काठमाडौं, १४ असार । त्रि.वि. शिक्षण अस्पतालअन्तर्गतको मनमोहन कार्डियो–थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा पहिलोपटक मिनिमल्ली इनभासिभ प्रविधिबाट मुटुको भल्व (माईट्रल भल्व) परिवर्तन गरिएको छ ।

पछिल्लो एक दशकदेखि मनमोहन सेन्टरमा मिनीमल्ली इनभाजिभ कार्डियाक सर्जरी गर्दै आएकोमा काखी मुनी प्वाल पारेर माईट्रल भल्व परिवर्तन गरिएको यो नेपालमै पहिलोपटक भएको हो ।

मनमोहन सेन्टरका सिटिभिएस विभागीय प्रमुख डा. अनिल भट्टराईको नेतृत्वमा उक्त शल्यक्रिया सम्पन्न भएको हो । एक ५३ वर्षीया महिलामा राईट एक्जिलरी मिनिथोराकोटोमी (काखीमा सानो प्वाल पारेर गरिने मुटुको शल्यक्रिया) प्रविधिमार्फत मुटुको माइट्रल भल्व परिवर्तन गरिएको हो । शल्यक्रियापश्चात् विरामीको अवस्था सामान्य रहेको र छिट्टै डिस्चार्ज गर्ने तयारीमा रहेको डा. भट्टराईले जानकारी दिए ।

विश्वस्तरीय सेवा आफ्नो अस्पतालबाट दिन सकेकोमा अस्पतालका कार्यकारी निर्देशक डा. रत्नमणि गजुरेलले खुशी व्यक्त गरेका छन् । उक्त प्रविधिको फाईदा विरामी छिटो निको हुने, कस्मेटिक रुपमा उत्तम, शल्यक्रियापश्चात् हुने जोखिम कम र अस्पताल बसाईपनि छोटो हुने भएकोले विरामीको लागि पनि लाभदायी मानिन्छ ।

डा. भट्टराईको नेतृत्वमा सम्पन्न भएको शल्यक्रियामा डा. प्रभात खकुराल, डा. रवि बराल र डा. समिर यादव संलग्न थिए । यस्तै, एनेस्थेसियामा डा. विश्वास प्रधान, डा. विभुस श्रेष्ठ र डा. अर्जुन गुरुङ संलग्न थिए भने प्रफ्युजनिष्टको रुपमा महेन्द्र भट्टको योगदान थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot