Logo

शंकर पोखरेलले उठाए पार्टीको संगठनात्मक ढाँचा फेर्नुपर्ने कुरा, ओलीको प्रशंसामात्र



विराटनगर, १४ असार । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टी निर्माणको काम सोचेअनुसार नभएको बताएका छन् । मोरङको उर्लाबारीस्थित मदन भण्डारी स्मृति प्रतिष्ठान नेपालद्वारा बिहीबार उर्लावारीमा आयोजित नेपाली कम्युनिष्ट आन्दोलनमा जननेता मदन भण्डारीको योगदान र आजको सन्दर्भमा ‘जनताको बहुदलीय जनवाद’को सान्दर्भिकता विषयक विचार गोष्ठीमा बोल्दै महासचिव पोखरेलले जनताको बहुदलीय जनवादले पार्टी निर्माणको सन्दर्भमा जुन दृष्टिकोण राखेको छ त्यस अनुसार काम हुन नसकेको बताएका हुन् ।

पोखरेलले पार्टी निर्माणको सन्दर्भको बारेमा जनताको बहुदलीय जनवादले स्पष्ट दृष्टिकोण दिएको बताए । जनतामा आधारित कार्यकर्ता पार्टी बनाउने दृष्टिकोण जनताको बहुदलीय जनवादले अघि सारेको र त्यसकै आधारमा एमाले जनतामा आधारित कार्यकर्ता पार्टीका रूपमा रहेको उनले स्पष्ट पारे । जनताको बहुदलीय जनवादको पार्टी बनाउने दृष्टिकोणलाई अध्यक्ष केपी शर्मा ओलीले अवलम्बन गरेको बताउँदै उनले भने,‘आज हाम्रो पार्टीको सङ्गठनात्मक प्रणालीको प्रणेता केपी ओली नै हो ।’

एमालेले २०५१ सालमा प्राप्त गरेको सफलता मदन भण्डारीको बलिदानको कारण भएको उनले स्पष्ट पारे । रहस्यमय जिप दुर्घटनामा मृत्यु भएको घटनाबाट उद्वेलित भएका नेपाली जनताले उनको पार्टी एमालेलाई मत दिएको महासचिव पोखरेलले बताए । २०५४ सालको निर्वाचनको सफलता २०५१ सालको मनमोहन अधिकारी सरकारले गरेको कामको कारण भएको उनको भनाइ छ । यसको जस माधव नेपालले लिन खोज्नुको कुनै अर्थ नरहेको महासचिव पोखरेलले बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot