Logo

प्रदीप पौडेलले सुरु गरे चक्रपथ विस्तार छिटो सम्पन्न गराउन दबाब यात्रा (तस्बिरहरू)



काठमाडौं, असार १५। नेपाली कांग्रेसका नेता प्रदीप पौडेलको नेतृत्वमा चक्रपथ विस्तारको काम शीघ्र अघि बढाउन माग गर्दै दबाब यात्रा गरिएको छ । कलङ्कीबाट सुरु भएको यात्रा चक्रपथको कलङ्की–सीतापाइला–स्वयम्भू–बालाजु–सामाखुसी– वसुन्धरा हुँदै धोविखोला भएर अघि बढिरहेको छ ।

सडक विस्तारको काम ढिला भएको र सर्वसाधारणले समस्या भोग्न परेको भन्दै विरोध स्वरूप पैदलयात्रा गरिएको हो । सरकारले चक्रपथ विस्तारका लागि ६ वर्ष अघि धमाधम रुख काटेर नयाँ लेन बनाउने भनिए पनि सो काम अलपत्र छ । काठमाडौँको रिङरोड समयमै निर्माण सम्पन्न नहुँदा धुँवा धुलोले यहाँको वातावरणदेखि स्थानीय बासिन्दा र सर्वसाधारण जनताको स्वास्थ्यमा प्रत्यक्ष रूपमा गम्भीर असर परिरहेको छ।

सरकारले महत्त्वपूर्ण परियोजनालाई अलपत्र पारेर नागरिकको स्वास्थ्यसँग खेलबाड गरिरहेको आरोप लगाउँदै नेता पौडेलले सरोकारवालालाई जिम्मेवार बनाउन दबाब यात्राको आयोजना गरेका हुन् । केही दिनअघि पनि नेता पौडेलले रिङरोड विस्तारको बाँकी काम छिटो सम्पन्न गर्न आवश्यक पर्ने बजेट व्यवस्थापनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल र अर्थमन्त्री वर्षमान पुनलाई भेटेर ध्यानाकर्षण गराएका थिए । यस्तै, उनले काठमाडौँ महानगर प्रमुख बालेन्द्र शाह र नेपालका लागि चिनियाँ राजदूत चेन सोङ्गसँग पनि रिङरोड विस्तारको बाँकी काम सम्पन्न गर्ने विषयमा छलफल गरेका थिए।



प्रतिक्रिया दिनुहोस्

Screenshot