Logo

पत्नी आरजुसहित बालकोट पुगेर देउवाले भेटे ओलीलाई, विनोद चौधरीको सक्रियता बढ्दो



काठमाडौं, १५ असार । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता बढाएका छन् । पछिल्लो समय दुई नेताबीच सम्बन्ध सुधारको सेतुको भूमिकामा कांग्रेस सांसद विनोद चौधरी नै सक्रिय छन् ।

रास्वपाका स्थापना दिवसको अवसरमा आयोजित चियापानमा भेट भएका ओली र चौधरीबीच घण्टीघरमा मात्रै भलाकुसारी रोकिएन । चौधरी त्यही रात ओली निवासमा आयोजित सांगितीक कार्यक्रममा सरिक भएका थिए ।

चौधरीकै सक्रियतामा देउवाले ओलीसँग यो साता दुई पटक एक्लाएक्लै र एकपटक पत्नी आरजु राणासहित भेटवार्ता गरेका छन् । आज अपरान्ह ४ बजे पनि देउवा पत्नी आरजु लिएर बालकोट पुगेको उच्च स्रोतको दाबी छ ।

पछिल्लो समय कांग्रेस र एमालेबीच सत्ता सहकार्यको बारेमा दुवै दलका दोस्रो तहका नेताहरुले नेतृत्वसमक्ष दबाब सिर्जना गरेका छन् । ओली र प्रधानमन्त्री पुष्पकमल दाहालबीच सम्बन्ध चिसिएको चर्चा चलेको छ ।

बजेटको विषयमा ओलीले सार्वजनिक रुपमै आलोचना गर्नुले पनि प्रधानमन्त्री दाहालसँग उनको सम्बन्ध चिसिएको भनेर आँकलन गरिएको थियो ।

यता, प्रधानमन्त्री दाहालले भने ओलीसँग आफ्नो सम्बन्ध राम्रो रहेको भन्दै गठबन्धन चुनावसम्मै कायम रहने दाबी गर्दै आएका छन् । आज भएको ओली र देउवाबीचको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot