Logo

भारतले जित्यो आइसिसी टी-२० विश्वकपको उपाधि



काठमाडौं, असार १६ । नवौँ संस्करणको आइसिसी टी-२० विश्वकप-२०२४ को उपाधि भारतले जितेको छ । बार्बाडोसमा शनिबार राति भएको फाइनल खेलमा दक्षिण अफ्रिकालाई सात रनले हराउँदै भारत च्याम्पियन बनेको हो । भारतको यो दोस्रो टी-२० विश्वकप उपाधि हो । यसअघि भारतले सन् २००७ को पहिलो संस्करण जितेको थियो ।

जितका लागि भारतले दिएको एक सय ७७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रीका निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ६९ रनमा समेटिएको थियो । दक्षिण अफ्रिकाका लागि क्लासेन हेनरिकले सर्वाधिक ५२ रन बताए। यस्तै क्वीटन डि ककले ३९, त्रिस्टन स्टब्सले ३१ र डेभिड मिलरले २१ रन जोडे। बलिङमा भारतका हार्दिक पाण्डेयले तीन विकेट लिए। अर्सदिप सिंह र जसप्रित बुमराहले दुई दुई तथा अक्षर पटेलले एक विकेट लिए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ७६ रन बनाएको थियो । भारतका लागि विराट कोहलीले सर्वाधिक ७६ रन बताए। उनले ५९ बलमा ६ चौका र दुई छक्काको सहयोगमा उक्त रन जोडेका हुन्। यस्तै अक्षर पटेलले ४७ र शिभम् दुवेले २७ रन बनाए। बलिङमा दक्षिण अफ्रिकाका केशव महाराज र एनरिक नोर्टजेले दुई दुई विकेट लिए। मार्को यानसन र कागिसो रबाडाले एक एक विकेट लिए।

पहिलो पटक विश्वकपको फाइनलमा स्थान बनाएको दक्षिण अफ्रिकाको उपाधि जित्ने सपना पूरा भएन । भारत र दक्षिण अफ्रिका अपराजित रहदै फाइनलमा पुगेका थिए । अमेरिका र वेस्ट इन्डिजले आयोजना गरेको यस विश्वकपमा २० टोलीले प्रतिस्पर्धा गरेका थिए । दोस्रो पटक विश्वकप खेलेको नेपाल भने समूह चरणबाट बाहिरिएको थियो । नेपालले यसअघि बङ्गलादेशमा सन् २०१४ मा आयोजना भएको विश्वकप खेलेको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot