Logo

ज्येष्ठ नागरिकलाई छाता र लौरो उपहार



धुलिखेल, असार १६ । काभ्रपलाञ्चाेक जिल्लाको विटक खानीखोला गाउँपालिका–५ वडा कार्यालय का शनिवार पुगेका ७८ वर्षीय बलबहादुर श्रेष्ठ साथमा छाता र लौरो लिएर घर फर्किए। पालिकाको समन्वयमा तालढुंगामा आयोजना गरेको असक्त ज्येष्ठ नागरिक सम्मान कार्यक्रममा उनले छाता र लौरो उपहार पाए।

सोही वडाका अर्का स्थानीय ज्येष्ठ नागरिक खडानन्द आचार्यले पहिलोपटक वडा कार्यालयले बोलाएर सम्मानसहित लौरो र छाता उपहार दिएपछि गाउँमै सरकार आएको अनुभूति भएको बताए। गाउँपालिकाले आफ्ना समस्याका बारेमा बुझ्ने, भत्ता, छाता र लौरो आफ्नो वडाबाटै लिन पाउँदा निकै खुसी लागेको उनले सुनाए।

खानीखोला गाउँपालिका–५ तालढुंगा वडा कार्यालयबाट जनप्रतिनिधिले लौरो र छाता बोकेर जनताको घरैमा पुगेका छन्। सामाजिक सुरक्षा भत्ता पाउने नागरिकलाई हिँडडुल गर्न र पानीबाट जोगिन सहयोग होस् भन्ने उद्देश्यले छाता र लौरो उपहार दिइएको गाउँपालिकाले जनाएको छ।

वडा नं ५ बाट एक सय नौजनाले सामाजिक सुरक्षा भत्ता लिँदै आएका ज्येष्ठ नागरिकलाई सो उपहार प्रदान गरेकोे वडाध्यक्ष बुद्धिबहादुर स्याङ्तानले राससलाई बताए।

सो वडाबाट हरेक महिनाको एकपटक ६० वर्ष माथिका ज्येष्ठ नागरिकको घुम्ती स्वास्थ्य परीक्षण कार्यक्रममार्फत नियमित स्वास्थ्य परीक्षण गर्दै आएको उनले बताए।

‘सामाजिक सुरक्षा भत्ताकार्ड’ हरेक आर्थिक वर्षमा नवीकरण गर्न वडामै पुगेर गर्नुपर्ने व्यवस्था भए पनि सेवाग्राहीको समस्यालाई मध्यनजर गर्दै वडा नं ५ ले घरघरमै गएर सामाजिक सुरक्षा भत्त कार्ड नवीकरण गर्दै आएको वडासचिव चण्डिका थापाले बताए।

गाउँपालिका उपाध्यक्ष दोर्जेमान जिम्बाले आफ्ना नागरिकले वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरणको माग गरेपछि भत्तासँगै लौरो र छाता लिएर पुग्ने गरेको बताए। गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङले विकट भूगोल भएकाले वडामै पुगेर सेवा दिने व्यवस्था गरेको बताए।

वडा नं ५ पालिकाकाकै केन्द्र भएकाले भत्ता लिन आउन गाउँपालिकाको केन्द्रमा बैंक रहेकाले त्यहाँसम्म पुग्न अरु वडाको तुलनामा अलि सहज भएकाले कतिपयको भने सुरक्षा भत्ता बैंकबाटै वितरण थालिएको उनले बताए।

गाउँपालिकाले वडा नं ४ बाट सुरु गरेको लौरो र छाता उपहार कार्यक्रमलाई सबै वडामा वितरण गरिसकेको पालिकाले जनाएको छ। गाउँपालिकामा एक हजार एक सय सातजनाले सामाजिक सुरक्षा भत्ता लिने गरेका छन्।



प्रतिक्रिया दिनुहोस्

Screenshot