Logo

कुतियाकबरमा ‘सेफ हाउस’ निर्माण



वेदकोट (कञ्चनपुर), १६ असार । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१० स्थित कुतियाकबरमा सुरक्षित आवास (सेफ हाउस) निर्माण भएको छ । महाकाली र जोगबूढा नदीले घेरेको बाढीको उच्च जोखिममा रहेको बस्ती कुतियाकबरका स्थानीय बर्सेनी बाढीको समस्या झेल्दै आएका छन् ।

बाढी आएका बेला बस्न मिल्नेगरी कुतियाकबरका स्थानीयका लागि दुई वटा सेफ हाउस निर्माण गरिएको दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोरकुमार लिम्बुले बताए । नगरपालिका, नेपाली सेना र विभिन्न सङ्घसंस्थाको लगानीमा उक्त आवास निर्माण भएपछि स्थानीय खुसी भएका छन् ।

नगरप्रमुख लिम्बुका अनुसार नगरपालिकाको पाँच लाखसहित विभिन्न सङ्घसंस्थाको गरी कूल २७ लाखमा एउटा र सेनाको २० लाख र नगरपालिकाको पाँच लाखको लगानीमा अर्को सेफ हाउस निर्माण भएको हो ।

“बाढीले बर्सेनी खाद्यान्न, लत्ताकपडा बगाएर लैजान्छ । ज्यान जोगाउनै मुश्किल पर्छ”, स्थानीय टेकबहादुर सुनारले भने, “एक किलोमिटर टाढा गएर आश्रय लिएर बस्नु प¥थ्यो । सेफ हाउस निर्माण भएपछि त्यो बाध्यता हट्ने छ ।” कुतियाकबरका स्थानीय बाढी आएका बेला घर छोडेर दोधारा चाँदनी–७ स्थित अम्बिका माध्यमिक विद्यालयमा आश्रय लिएर बस्दै आएका थिए ।

“वर्षात् लाग्नेबित्तिक्कै डर त्रास हुन्थ्यो । सेफ हाउस भएपछि केही हदसम्म डर हटेको छ । ज्यान जोगिने आशा जागेको छ”, स्थानीय मायादेवी सुनारले भने, “खाद्यान्न, लुगाफाटो त बचाउन सकिँदैन । सेफ हाउसले ज्यान जोगिनेमा ढुक्क छौँ ।”

सीमामा नेपाली भूमिको रक्षक बनेर बसेका कुतियाकबरका स्थानीयले सरकारसँग वर्षात्मा बस्न सुरक्षित स्थानमा आवास उपलब्ध गराउनुपर्ने माग गर्दै आएका थिए । महाकाली नदीमा पक्की तटबन्धन नहुँदा कुतियाकबरमा कटान भएर उर्वराभूमि बगरमा परिणत हुँदै गएको छ ।

हाल महाकाली नदीमा जैविक तटबन्धन निर्माण गर्ने काम समेत भइरहेको नगरप्रमुख लिम्बुले जानकारी दिए । उनका अनुसार महाकालीको तटीय क्षेत्रका स्थानीयलाई पानीको बहावबारे सूचना दिन पक्की पुलमा उपकरण जडान गरिएको छ ।

“जोगबूढा नदीमा पनि उपकरण जोड्ने तयारी गरेका छौँ । महाकालीमा जडित उपकरणले पानीको बहाव सतर्कता तह पार गरेको मापन गरेपछि साइरन बजाएर वा म्यासेजमार्फत जानकारी गराइन्छ”, उनले भने । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot