Logo

व्यावसायिक बेसारखेतीः वार्षिक ४५ करोडभन्दा बढीको बिक्री



धरान , १६ असार । धरान उपमहानगरपालिका–२० का कृषक व्यावसायिक बेसारखेतीतर्फ आकर्षित भएका छन् । व्यावसायिकरूपमा बेसारखेतीमा लागेका धरान उपमहानगरपालिका–२० विष्णुपादुकाका तुलसिङ राईले बेसारखेतीबाट राम्रै आम्दानी गरिरहेका बताए ।

उनले २०४५ सालदेखि बेसारको खेती गर्दै आएका छन् । गत वर्षको तुलनामा यस वर्ष बेसारको राम्रै मूल्य रहेकाले आम्दानी पनि राम्रै भइरहेको उनी सुनाउँछन् । उनले वर्षमा चारदेखि पाँच क्विन्टलसम्म बेसार उत्पादन गर्दै आएका छन् । जसबाट वार्षिक दुई लाखदेखि तीन लाखसम्म आम्दानी हुने गरेको छ । अहिले बजारमा बेसार खुद्रा मूल्य प्रतिकेजी दुई सय ८० देखि तीन सयसम्ममा बिक्री हुने गरेको छ ।

बेसार उत्पादक तुलसिङले भै, “मैले चार कठ्ठा जग्गामा बेसारखेती गरेको छु, तीन÷चार पटक गोडमेल गर्नुपर्छ, मेहनतअनुसारको आम्दानी पाएकाले खुसी छु ।” यहाँ उत्पादित बेसार धरान–१७ को मङ्गलबारे बजार, धरान कृषि बजारदेखि पोखरा, काठमाडौँ, लहान तथा छिमेकी मुलुक भारतलगायतका ठाउँहरुमा जाने गरेको छ ।

व्यावसायिक रूपमा बेसारखेती गर्दै आएका अर्का किसान धरान उपमहानगरपालिका–२० का तिलक राई मौसमले साथ दिएको अवस्थामा बेसारखेतीबाट राम्रै आम्दानी हुने गरेको बताउँछन् । “चार÷पाँचकठ्ठा जमिनमा बेसारखेती गर्दै आएको छु, वार्षिक चार क्विन्टलभन्दा बढी बेसार उत्पादन हुने गरेको छ, यसबाट रु तीन लाखभन्दा बढी आम्दानी हुन्छ”, उनले भने ।

धरानको विष्णुपादुकामा यस क्षेत्रमै सबैभन्दा धेरै बेसारखेती हुन्छ । ४१ वर्षदेखि बेसारखेती गर्दै आउनुभएका राईले भने, “बेसार उत्पादन गर्दा मेहनत धेरै लाग्छ, हलोले जोत्न मिल्दैन, आफैँले कुटो, कोदालो लगाएर खन्नुपर्ने हुन्छ । पहाड जस्तो ठाउँमा गिटी, ढुङ्गा र बालुवा मात्र हुन्छ, खन्न निकै साह्रो हुन्छ, तर मेहनतअनुसार मूल्य राम्रै भएकाले दुःख बिर्सन्छु, खुसी हुन्छु ।”

सोही ठाउँका अर्का किसान पदम राईले पनि बेसारखेती गरिरहेका छन् । यस क्षेत्रका उनी पुराना किसान हुन् । उनी पनि वार्षिक तीनदेखि चार लाख यसै खेतीबाट आम्दानी गर्न सफल भएक छन् । बढीमा १० क्विन्टल बेसार उत्पादन गरेर उपभोक्ताको घरसम्म बेसार पु¥याउने काम सजिलो छैन, यो मेरो पुख्र्यौली खेती हो, उनको प्रतिक्रिया छ ।

विष्णुपादुकामा उत्पादित बेसार बजारीकरणका लागि धरानको कृषि बजारलाई दिएको र त्यहाँबाट भारतसम्म निर्यात हुने गरेको धरान उपमहानगरपालिका–२० का वडाध्यक्ष पदम लिम्बुले बताए ।

अध्यक्ष लिम्बुका अनुसार हाल विष्णुपादुकामा बेसारखेती गर्ने दुईसयको हाराहारीमा किसान छन् । उनीहरुले गर्ने बेसार, अदुवाखेतीमा किरा लाग्ने, कुहिने समस्या देखापर्न थालेपछि त्यसको समस्या समाधानका लागि कृषि विज्ञको सल्लाहअनुसारको कीरा र रोग नियन्त्रण गर्ने औषधि किसानलाई प्रदान गरिँदै आएको जानकारी दिए ।

विष्णुपादुकाबाट धरान बजार पुग्न केही समय लाग्ने भएकाले विष्णुपादुका नजिकै रहेको बजार भञ्ज्याङ भन्ने ठाउँमा बजारको व्यवस्था गरेर किसानको सहजताका लागि छिट्टै सुरु गरिने वडा अध्यक्ष लिम्बुको भनाइ छ ।

विगतको तुलनामा चालु आर्थिक वर्षमा बेसारको मूल्य बढेको धरान कृषिउपज बजार व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण भट्टराईले बताए । उनले भने, “विशेषगरी बेसार धरान उपमहानगरपालिका–२० बाट धेरै आउने गरेको छ भने पहाडी जिल्ला तेह्रथुम, पाँचथर, खोटाङ, धनकुटा लगायतबाट पनि बेसार बोकेर किसान आउने गरेका छन् । बेसार चैत, वैशाखमा सिजन हुने भएकाले त्यो समयमा धेरै आउने र यही सिजनमा वार्षिक दुई हजार चार सय मेट्रिकटनसम्म बेसार बिक्री हुने गरेको तथ्याङ्क छ ।”

विसं २०८० असार मसान्तदेखि गत जेठ सम्ममा धरान उपमहानगरपालिका–१३ कृषि बजारबाट जम्मा रु ४५ करोडको बेसार बिक्री भएको अध्यक्ष लक्ष्मण भट्टराईले बताउँदै यसको निर्यातमा सरकारको सहयोगको आवश्यकता छ भने ।

पछिल्लो समयमा बेसार भान्सामा मात्र सीमित नरहेर सौन्दर्यकरण, बिहेमा हल्दी लगाई कार्यक्रममा पनि खपत भइरहेको पाइएको छ । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot