Logo

पर्यटन तथा पर्वतारोहण विषय पढ्नेलाई अनुदान



मनाङ, १६ असार । मनाङ जिल्लाको नासों गाउँपालिकाले पर्यटन तथा पर्वतारोहण विषय लिएर अध्ययन गर्ने विद्यार्थीलाई अनुदान उपलब्ध गराउने भएको छ । गाउँपालिकालले यस विषयमा अध्ययन गरिरहेका विद्यार्थीलाई अवलोकन भ्रमण तथा स्थलगत अध्ययनका लागि रु ५० हजार अनुदान दिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

गाउँपालिकाका अध्यक्ष धनबहादुर गुरुङले प्रकाशज्योति माध्यमिक विद्यालयमा कक्षा १२ मा पर्यटन तथा पर्वतारोण विषय अध्यापन भइरहेको र त्यहाँका विद्यार्थीलाई अनुदानको व्यवस्थापन गरिएको बताए । उनका अनुसार प्रतिविद्यार्थी ५० हजार गाउँपालिकाले उपलब्ध गराउनेछ ।

उनले भने, “हिमाली जिल्ला भएकाले पर्यटन तथा पर्वतारोहण विषय महत्वपूर्ण छ । यहाँको स्थानीयबाट नै प्रवद्र्धन गर्न टेवा पुग्नेछ ।” यस विषय लिएर अध्ययन गर्ने विद्यार्थीलाई प्रोत्साहन गर्नकै लागि अनुदानको व्यवस्था गरिएको अध्यक्ष धनबहादुरले बताए ।

गाउँपालिकाले बाल बचतलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रभु बैङ्क नासोँ शाखाको सहकार्यमा कक्षा १ मा अध्ययनरत बालबालिकालाई प्रतिविद्यार्थी दुई हजारका दरले खाता खोलीे बालबचत कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

शैक्षिक सत्र २०८१ साउनबाट कक्षा ३ मा प्रकाशज्योति विद्यालयमा अङ्ग्रेजी माध्यमबाट अध्यापन गराइने छ । गाउँपालिकाभित्रका सामुदायिक विद्यालयबाट एसइई उत्तीर्ण गरी प्राविधिक धारका विषय अध्ययन गर्न चाहने विद्यार्थीलाई एक लाख छात्रवृत्ति प्रदान गरिने उपाध्यक्ष वेदबहादुर गुरुङले बताए ।

उनका अनुसार शैक्षिक सत्र २०८१ मा गाउँपालिकाअन्तर्गतका सामुदायिक विद्यालयबाट एसइईमा ‘ए प्लस ग्रेड’ ल्याउने विद्यार्थीलाई प्रोत्साहनस्वरुप जनही २० हजार पुरस्कार वितरण गरिनेछ । प्रकाशज्योतिलाई सिक्ने, टिक्ने र विक्ने शैक्षिक केन्द्रका रुपमा नमूना विद्यालयका रुपमा विकास गरी सबैको रोजाई विद्यालयमा विकास गर्ने गाउँपालिकाको लक्ष्य छ । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot