Logo

मुख्यसचिव नियुक्त गर्ने प्रधानमन्त्री प्रचण्डको तयारी, पहिलो रोजाईमा सचिव भट्टराई



काठमाडौं, १६ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नयाँ मुख्यसचिवको खोजीमा लागेका छन् । गत असार २ गते (आईतबार) मुख्यसचिव डा. बैकुण्ठ अर्याललाई भ्रष्टाचार मुद्दा लागेपछि निमित्तको भरमा चलिरहेको छ । निमित्त मुख्यसचिवको जिम्मेवारी कानुनतर्फकी सचिव लीलादेवी गड्तौलाले पाएकी छिन् ।

निलम्बित मुख्यसचिव डा. बैकुण्ठ अर्याललाई राष्ट्रिय योजना आयोगका विशेष दरबन्दी सिर्जना गरेर नयाँ मुख्यसचिव बनाउने बाटो खोलिसकिएको छ । यस्तो अवस्थामा मुख्यसचिव निमित्तलाई धेरै छाड्नु हुँदैन भन्ने कुरामा प्रधानमन्त्री प्रचण्ड स्पष्ट रहेको उनीनिकट स्रोत बताउँछ । त्यसैले आगामी मन्त्रिपरिषद्को बैठकले नयाँ मुख्यसचिव बनाउने सम्भावना रहेको स्रोतको दाबी छ । मन्त्रिपरिषद्को बैठक भोलि बस्दैछ ।

नयाँ मुख्यसचिवका लागि निमित्त मुख्यसचिव लीलादेवी गड्तौला, राष्ट्रिय योजना आयोगका सचिव तोयानारायण ज्ञवाली, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदी, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका सचिव दिनेश भट्टराई र गृह मन्त्रालयका सचिव एकनारायण अर्यालबीच मुख्य प्रतिस्पर्धा देखिन्छ ।

निमित्त मुख्यसचिव गड्तौला ५८ वर्षे उमेरहदका कारण यही भदौ १५ गते घर जाँदैछिन् । उनी कांग्रेसनिकट भनेर चिनिन्छिन्् । गृह मन्त्रालयका सचिव अर्याल अर्को मंसिरमा घर जाँदैछन् । उनी २०८२ मंसिर १० गते ५८ वर्ष पुग्नेछन् । त्यसैले अर्याल डेढ वर्ष पनि मुख्यसचिव नबन्ने देखिन्छ । अर्याल एमालेनिकट बताए पनि बामदेव गौतम गृहमन्त्री हुँदा उनका विश्वासपात्र भएर काम गरेका व्यक्ति हुन् । सबै शक्ति केन्द्र रिजाउन खोज्दा गृह सचिव अर्याललाई पछिल्लो समय धेरैले विश्वास गर्न छाडेका छन् । उनीमाथि आफू बन्न जे पनि गर्न सक्छन् भन्ने आरोप लागेको छ ।

राष्ट्रिय योजना आयोगका सचिव ज्ञवाली र सञ्चार सचिव रामकृष्ण सुवेदी मुख्य सचिव भए उनीहरु पनि साढे दुई वर्षमात्र बस्नेछन् ।। ३ वर्ष पुरा खाने भट्टराई मात्र देखिएका छन् । ज्ञवालीको नेतृत्व क्षमता कमजोर रहेको देखिन्छ । त्यसैले उनले महत्वपूर्ण निकायको जिम्मेवारी पाएका छैनन् । सञ्चार सचिव सुवेदी माओवादीको नाममा फाइदा लिएर उक्त पार्टीलाई नै असहयोग गर्ने व्यक्तिमा परिचित छन् । पाउनका लागि जे पनि गर्ने र पाइसकेपछि कसैलाई नटेर्ने सुवेदीको स्वभाव भएको कुरा सिंहदरबारमा अहिलेपनि चर्चा हुने गरेको छ । उनी दिननाथ शर्माका खास मान्छे हुन् ।

प्रधानमन्त्री प्रचण्डले मुख्यसचिव बनाउनको लागि हिजोदेखि गम्भीर परामर्श थालेका छन् । उनको रोजाईमा महिला सचिव भट्टराई परेका छन् । भट्टराईलाई प्रचण्डले नै गृहसचिव बनाएका हुन् । प्रधानमन्त्री प्रचण्डको लाइनअनुसार काम गर्दै आएका भट्टराई प्रचण्डलाई निकै मान्छन् । प्रचण्डको विश्वास जितेर काम गर्ने सचिवका रूपमा भट्टराई चिनिन्छन् । ३ वर्ष मुख्यसचिव खाने हुनाले भट्टराईलाई नै मुख्यसचिव बनाउँदा प्रचण्डलाई फाइदा हुने भन्दै माओवादीभित्रैबाट पनि लविङ थालिएको छ । यो कुरामा प्रचण्डनिकट माओवादीका शीर्ष नेता स्पष्ट छन् । त्यसैले भट्टराईलाई मुख्यसचिव बनाउन प्रचण्ड सकारात्मक रहेको बताइन्छ ।

प्रधानमन्त्री प्रचण्डले चाहेको व्यक्ति मुख्यसचिव हुने भएकाले उनले कसलाई चाहेका छन् भन्ने कुरा मुख्यसचिव नियुक्ति गरेपछि थाहा हुनेछ । तर, उनी पूरा समयावधि चलाउनेलाई मुख्यसचिव बनाउनुपर्छ भन्नेमा स्पष्ट रहेको स्रोतको दाबी छ । मुख्यसचिव नियुक्तीको सवालमा एमाले र माओवादीबीच रस्साकस्सी चल्ने भनिएको छ । तर, प्रधानमन्त्री प्रचण्डले नै यसपटक आफूले विश्वास गरेको र सबैको साझा भएर कर्मचारीतन्त्रको नेतृत्व गर्नसक्ने व्यक्तिलाई मुख्यसचिव बनाउन चाहेका छन् ।

file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot