Logo

पाकिस्तान र इरानबाट तेह्र हजारभन्दा बढी अफगानी आप्रवासी फिर्ता



इस्लामाबाद, पाकिस्तान, १६ असार । इरान र पाकिस्तानबाट गत हप्ता १३ हजार ४४७ जना अफगानी आप्रवासीलाई स्वदेश फिर्ता पठाएको ‘द खामा प्रेस’ले जनाएको छ ।

तालिबान नेतृत्वको मन्त्रालयका अनुसार महिला र बालबालिकासहित कुल शरणार्थीमध्ये १० हजार २२५ लाई इरानबाट र तीन हजार २२२ लाई पाकिस्तानबाट फिर्ता गरिएको थियो ।

अफगानी आप्रवासीहरू तोरघुन्डी, स्पिन बोल्डक, इस्लाम काला र मैत्री पुल जस्ता सीमाबाट अफगानिस्तान फर्केको मन्त्रालयले विस्तृत जानकारी दिएको छ ।

हालैका महिनामा पाकिस्तान र इरानबाट अफगान आप्रवासीहरूको फिर्ती तीव्र रूपमा बढेको छ । दुवै देशले उचित आवासीय कागजात नभएकाहरूलाई अफगानिस्तानमा फिर्ता पठाएको दाबी गरेको द खामा प्रेसले जनाएको छ ।

केही निर्वासित आप्रवासीहरूले वैध निवास कागजातहरू भए पनि उनीहरूलाई प्रहरीले हिरासतमा लिएको र जबरजस्ती अफगानिस्तान फिर्ता गरेको आरोप लगाएका छन् । धेरै अफगान आप्रवासीहरूले आफ्नो शिविरमा इरानी प्रहरीले दुब्र्यवहार गरेको उदाहरणसहित दस्तावेज तयार पारेका छन् ।

पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले यसअघि अफगानिस्तानसँगको सिमानामा अन्तर्राष्ट्रिय कानुन कडाइका साथ लागु गर्ने इच्छा व्यक्त गरेका थिए ।

यी घटनाक्रमबीच, अफगानिस्तानले हजारौँ आप्रवासीहरूको जबरजस्ती फिर्तीबाट बढेको गम्भीर मानवीय संकटको सामना गरिरहेको छ । यो अवस्थाले अफगानी शरणार्थीहरूको अधिकार र सुरक्षाको रक्षा गर्न जारी मानव अधिकारको उल्लङ्घन र चुनौतिहरूलाई प्रकाश पार्छ । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot