Logo

प्रधानमन्त्री प्रचण्ड चरम दबाबमा, ओलीले देउवासँग सहकार्यको हात अघि बढाए



काठमाडौं, १७ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल यतिवेला चरम दबाबमा परेका छन् । सत्ता गठबन्धनको मुख्य चाबी हातमा लिएर बसेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सहकार्य तोड्ने मन बनाएपछि प्रधानमन्त्री दाहाल आँत्तिएका हुन् । यद्धपी प्रधानमन्त्री दाहालको सचिवालयले भने कुनैपनि हालतमा सत्ता गठबन्धन नभत्किने दाबी गरेको छ । प्रधानमन्त्री दाहालकी स्वकिय सचिव गंगा दाहालले यही गठबन्धन कायम रहने दाबी गरेकी छिन् ।

एमाले अध्यक्ष ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पछिल्लो तीन दिन लगातार गोप्य भेटवार्ता गरेपछि बालुवाटारमा तरंग पैदा भएको छ । हिजो र आज गरेर प्रधानमन्त्री दाहालले ओलीसँग घण्टौं लामो छलफल गरेका छन् । आज विहान सबेरैदेखि छलफलमा जुटेका दाहाल र ओलीबीच झण्डै तीन घण्टा कुराकानी भएको बताईएको छ ।

सो छलफलमा ओलीले आफूले कांग्रेससँग सहकार्यको थालनी गर्न लागेको पूर्व जानकारी दिएको बताईएको छ । यद्धपी प्रधानमन्त्री दाहालको सचिवालयले भने उक्त दाबीको खण्डन गरेको छ । आजै कांग्रेस सभापति देउवाले पदाधिकारी बैठक बोलाएका छन् । सो बैठकमा एमालेसँग भएको पछिल्लो समझदारीको विषयमा सभापति देउवाले ब्रिफिङ गर्ने बुझिएको छ । देउवा र ओलीबीच सहकार्यको गृहकार्य भएपछि प्रधानमन्त्री दाहाल भने चरम दबाबमा परेका छन् ।

दाहालले कांग्रेस नेतृत्वसमक्ष सत्ता–सहकार्यको लागि नयाँ प्रस्ताव गरेको पनि चर्चा चलेको छ। दाहालको प्रस्ताव देउवाले लत्याईदिएको र अब एमालेसँगको सहकार्य नै अघि बढ्ने देउवाको जवाफ थियो । आजै प्रधानमन्त्री दाहालले सत्ता गठबन्धनको बैठक बोलाएका छन् । गठबन्धनको बैठक बस्ने समयमा नै देउवाले पनि पदाधिकारी बैठक डाकेका छन् ।

उता, एमालेले पनि सत्ता गठबन्धनको बैठक बहिष्कार गर्ने तयारी गरेको बुझिएको छ । बरु, त्यही समयमा सत्ता गठबन्धनमा रहेका जनमत र गठबन्धन बाहिर रहेको लोसपाका नेताहरुसँग ओलीले छलफल गर्ने बुझिएको छ । देउवाले अब बन्ने सरकारको नेतृत्व गर्न ओलीलाई प्रस्ताव गरेका छन् । आफू प्रधानमन्त्री बन्ने अवस्था भए ओलीले दुई तिहाई बहुमतको सरकारको नेतृत्व गर्ने चाहना राखेका छन् ।

अहिले कांग्रेस र एमाले मिल्दा १६६ सांसद संख्या पुग्छ । संसद् दुई तिहाईको लागि १८३ चाहिन्छ । राप्रपा, लोसपा र जनमत पार्टी मिल्नेबित्तिकै दुई तिहाई पुग्छ । अहिले कांग्रेस र एमालेबीच संविधान संशोधनको लागि दुई तिहाई पुर्याउनेगरि छलफल चलेको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot