Logo

सत्ता गठबन्धनको आजको बैठक बहिष्कार गर्ने एमालेको तयारी, ओलीले राउत र ठाकुरसँग छलफल गर्दै



काठमाडौं, १७ असार । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालसँग विदाई भेटघाट गरेका छन् । सत्ता सहकार्य करिब करिब टुँग्याएको सन्देश प्रवाह गरेर बालुवाटारबाट विदा भएका ओलीले आज बस्ने भनिएको सत्ता गठबन्धनको बैठकमा समेत भाग नलिने भएका छन् । प्रधानमन्त्री दाहालले सत्ता गठबन्धनमा गम्भीर संकट आएको थाहा पाएपछि आज सत्ता गठबन्धनका दलका शीर्ष नेताहरुको छलफल डाकेका छन् ।

उता, कांग्रेससँग सत्ता–सहकार्यको अन्तिम निश्कर्षमा पुगेका ओलीले प्रधानमन्त्री दाहालले डाकेकै समयमा सत्ता गठबन्धनमा रहेको दल जनमतका अध्यक्ष सिके राउत र सत्ता गठबन्धनबाहिर रहेको दल लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग छलफल गर्ने तयारी गरेका छन् । विश्वस्त स्रोतकाअनुसार ओलीले आफू कांग्रेसको समर्थनमा प्रधानमन्त्री बन्न लागेको सन्देश प्रवाह गरेर नै राउत र ठाकुरको साथ लिन खोजेका हुन् ।

राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाको पनि साथ पाए दुई तिहाई बहुमतको सरकारको नेतृत्व गर्ने ओलीको दाउ छ । आजै कांग्रेस सभापति शेरबहादुर देउवाले पनि पदाधिकारी र पूर्व पदाधिकारीको बैठक डाकेका छन् । कांग्रेसको पदाधिकारी बैठकले एमालेसँगको सत्ता सहकार्यको विषयमा ठोस निर्णय लिने चर्चा । प्रधानमन्त्री दाहाल भने यतिवेला चरम दबाबमा छन् ।

उनी बरु कांग्रेससँगै सहकार्यको पक्षमा फर्किनेगरि मन बनाएर बसेका छन् । दाहालले देउवासमक्ष सहकार्यको लागि प्रस्ताव पनि पठाएको बुझिएको छ । तर, देउवाले आफू एमालेसँग सहकार्यको लागि धेरै टाढा पुगिसकेको जानकारी दिँदै अब माओवादीसँग सहकार्यको च्याप्टर क्लोज भैसकेको स्पष्ट जवाफ दिएको स्रोतको दाबी छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot