Logo

वर्षमान र जनार्दनसँग प्रधानमन्त्री प्रचण्डको ब्रिफिङ : मेरो नेतृत्वको सरकार ढल्दैछ



काठमाडौं, १७ असार । प्रधानमन्त्री पुष्पकमल दाहालले आफू नेतृत्वको सरकार ढल्ने भनेर पार्टीभित्रका प्रभावशाली नेताहरुसँग ब्रिफिङ गरेका छन् । कांग्रेस र एमाले नेतृत्वबीच सत्ता–सहकार्यबारे निर्णायक सहमति भएको भनिएको बेलामा प्रधानमन्त्री दाहालले पनि त्यसलाई बल पुग्नेगरि पार्टीभित्रका आफ्नो विश्वासिला पात्रहरुसँग ब्रिफिङ गरेको पाईएको छ ।

प्रधानमन्त्री दाहालनिकट उच्च स्रोतकाअनुसार प्रधानमन्त्री दाहालले पार्टीका उपमहासचिवद्धय जनार्दन शर्मा र वर्षमान पुनसँग पछिल्लो राजनीतिक परिस्थितिबारे ब्रिफिङ गरेको र उक्त ब्रिफिङमा सरकार ढल्ने कुरा गरेका थिए । प्रधानमन्त्री दाहालले उपमहासचिवद्धयसँग गरेको ब्रिफिङ गरेको कुरा उद्धृत गर्दै स्रोतले भन्यो–‘राजनीतिक परिस्थिति अलिक फेरिएको छ, कांग्रेस र एमाले मिलेर सरकार चलाउने सहमति भएको छ । हामी बाहिरिनुपर्ने भयो ।’

प्रधानमन्त्री दाहालले आफूहरु सरकार बाहिर हुँदापनि घाटा नहुने र सरकारको नेतृत्व गरुञ्जेल राम्रै काम गरेकोले आगामी निर्वाचनमा माओवादीलाई फाईदा हुने पनि विश्वास दिलाएका थिए । आजै प्रधानमन्त्री दाहालले सत्ता गठबन्धनको बैठक बोलाएका छन् । तर, एमाले अध्यक्ष केपी शर्मा ओलीले भने गठबन्धनको बैठक बहिष्कार गर्ने चर्चा चलेको छ ।

पछिल्लो समय कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता भएर नयाँ समिकरण बन्न लागेको हो । देउवा र ओलीबीच निर्णायक सहमति भएको हो भने एमालेले आजै सरकार छोड्नेसम्मको चर्चा छ । तर, एमालेका केही नेताहरुले भने वर्तमान सत्ता गठबन्धन नभत्किने दाबी गरिरहेका छन् । प्रधानमन्त्री दाहालको सचिवालयले पनि सरकार तलमाथि नहुने र यही गठबन्धन कायम रहने दाबी गरेको छ ।

प्रचण्ड सरकारमा अर्थमन्त्रीको भूमिका रहेका वर्षमानले यो बीचमा एमाले अध्यक्ष ओलीसँग भेटेरै गठबन्धन कायम गर्ने विषयमा छलफल चलाएका थिए । जवाफमा ओलीले आफू कांग्रेससँगको सहकार्यको लागि धेरै नै अघि बढिसकेकोले अब ब्याक हुने ठाउँ नभएको जवाफ दिएको स्रोतको दाबी छ । पूनले पनि आफूनिकट नेताहरुसँग एमाले–कांग्रेस सहकार्य लगभग निश्चित् बनेकोले अब माओवादी सरकारबाट बाहिरिने परिस्थिति बनेको भनेर ब्रिफिङ गरेका छन् । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot