Logo

सरकार नढल्नेमा गृहमन्त्री रवि लामिछाने ढुक्क, पार्टी पँक्तिलाई गरे बोल्ड कदम चाल्ने ब्रिफिङ



काठमाडौं, १७ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारको मुख्य घटकसमेत रहेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले वर्तमान सत्ता गठबन्धनमा कुनै संकट नरहेको ब्रिफिङ गरेका छन् । पछिल्लो समय कांग्रेस र एमाले मिलेर सरकार चलाउने र सरकारको नेतृत्व एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने भनेर चर्चा भैरहेको बेलामा गृहमन्त्रीसमेत रहेका रास्वपाका सभापति लामिछानेले भने तत्काल सरकार नढल्ने ब्रिफिङ गरेको पाईएको छ ।

लामिछानेले बाहिर हल्ला भएजस्तो कांग्रेस र एमालेबीच सत्ता सहकार्यको सम्भावना शून्य रहेको दाबी गरेका छन् । आजैमात्रपनि उनले आफूनिकट पार्टीका सांसदहरुसँग सत्ता–संकटबारे ब्रिफिङ गर्दा तत्काल समिकरण फेरबदल नहुने भनेर दाबी गरेका हुन् । प्रधानमन्त्री दाहाल सत्ता संकटमा परेको भनेर दबाबमा रहेको बेला उनकै नेतृत्वमा रहेको सरकारका गृहमन्त्री लामिछाने भने सरकार नढल्ने विषयमा पूर्ण विश्वस्त देखिएका छन् । उनले केही नेताहरुलाई एक महिनासम्म सरकार नढल्ने र एक महिनापछि अहिले बिग्रिएको परिस्थिति सम्हालिने दाबी गरेका छन् ।

गृहमन्त्री लामिछानेले विभिन्न २५ वटा भ्रष्टाचार काण्डको अनुसन्धान गर्न शक्तिशाली आयोग गठन गर्ने र बोल्ड कदम चाल्नेबारे पनि ब्रिफिङ गरेका छन् । उनले कतिपय भ्रष्टाचार काण्डमा ठूला पार्टीका हाई–प्रोफाईलहरुको पनि संलग्न रहेको र आफूले तिनीहरुलाई कारबाही गर्दा पार्टीको पनि हाईट बढ्ने विश्वास लिएका छन् ।

उता, प्रधानमन्त्री दाहालले आफू नेतृत्वको सरकार ढल्ने भनेर पार्टीभित्रका प्रभावशाली नेताहरुसँग ब्रिफिङ गरेका छन् । कांग्रेस र एमाले नेतृत्वबीच सत्ता–सहकार्यबारे निर्णायक सहमति भएको भनिएको बेलामा प्रधानमन्त्री दाहालले पनि त्यसलाई बल पुग्नेगरि पार्टीभित्रका आफ्नो विश्वासिला पात्रहरुसँग ब्रिफिङ गरेको पाईएको छ । प्रधानमन्त्री दाहालनिकट उच्च स्रोतकाअनुसार प्रधानमन्त्री दाहालले पार्टीका उपमहासचिवद्धय जनार्दन शर्मा र वर्षमान पुनसँग पछिल्लो राजनीतिक परिस्थितिबारे ब्रिफिङ गरेको र उक्त ब्रिफिङमा सरकार ढल्ने कुरा गरेका थिए ।

प्रधानमन्त्री दाहालले उपमहासचिवद्धयसँग गरेको ब्रिफिङ गरेको कुरा उद्धृत गर्दै स्रोतले भन्यो–‘राजनीतिक परिस्थिति अलिक फेरिएको छ, कांग्रेस र एमाले मिलेर सरकार चलाउने सहमति भएको छ । हामी बाहिरिनुपर्ने भयो ।’ प्रधानमन्त्री दाहालले आफूहरु सरकार बाहिर हुँदापनि घाटा नहुने र सरकारको नेतृत्व गरुञ्जेल राम्रै काम गरेकोले आगामी निर्वाचनमा माओवादीलाई फाईदा हुने पनि विश्वास दिलाएका थिए । आजै प्रधानमन्त्री दाहालले सत्ता गठबन्धनको बैठक बोलाएका छन् ।

तर, एमाले अध्यक्ष केपी शर्मा ओलीले भने गठबन्धनको बैठक बहिष्कार गर्ने चर्चा चलेको छ । पछिल्लो समय कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता भएर नयाँ समिकरण बन्न लागेको हो । देउवा र ओलीबीच निर्णायक सहमति भएको हो भने एमालेले आजै सरकार छोड्नेसम्मको चर्चा छ । तर, एमालेका केही नेताहरुले भने वर्तमान सत्ता गठबन्धन नभत्किने दाबी गरिरहेका छन् । प्रधानमन्त्री दाहालको सचिवालयले पनि सरकार तलमाथि नहुने र यही गठबन्धन कायम रहने दाबी गरेको छ । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot