Logo

ओली आज विहानै बालुवाटार जाने, त्यसपछि एमाले मन्त्रीहरुले राजीनामा दिने



काठमाडौं, १८ असार । नेकपा (एमाले) ले कांग्रेससँग सत्ता सहकार्य गर्ने टुँगो लागेको छ । कांग्रेस र एमाले नेतृत्वबीच सत्ता सहकार्यको सहमतिमा हस्ताक्षर भएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकार ढल्ने निश्चित् भएको छ । कांग्रेस र एमालेबीच भएको सहमतिअनुसार अब बन्ने सरकारको नेतृत्व एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन् ।

सोमबार राति अबेर दुई दलबीच सहमतिपत्रमा हस्ताक्षर भएको थियो । सोमबार राति नै दुवै दलका नेताहरुले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेका थिए । उनी रातको १ बजेसम्म शितलनिवासमा बसेर नयाँ सरकार गठनको प्रक्रियाबारे विमर्श गरेका थिए । राष्ट्रपति पौडेलले अर्को सरकारको आह्वान संविधानको धारा ७६ (२) अनुसार नगरेर धारा ७६ (३) अनुसार गर्ने हुन् कि भन्ने आशंका एमाले नेताहरुले पालेकाले दुवै दलका नेताहरुले सोमबार राति १ बजेसम्म शितलनिवासमा गम्भीर छलफल गरेका हुन् ।

कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच सत्ता सहकार्यबारे सोमबार नै ओलीनिकट व्यवसायी पाइलट रामेश्वर थापाको चपली हाईटस्थित् निवासमा सहमति भएपनि उक्त सहमतिपत्र आज मंगलबारमात्रै सार्वजनिक गरिने कांग्रेस एक नेताले जानकारी दिए ।

मंगलबार विहानै एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डसँग भेट गरेर नयाँ राजनीतिक परिस्थितिको बारेमा जानकारी गराउने बुझिएको छ । बालुवाटारमा दाहालसँगको भेटवार्तापछि ओलीले अहिले सरकारमा रहेका आफ्ना मन्त्रीहरुलाई राजीनामा दिन लगाउने छन् । File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot